देशभरका नगरपालिकामा वारुण यन्त्र राख्न निर्देशन
काठमाडौं, चैत २४- गृहमन्त्री माधवप्रसाद घिमिरेको अध्यक्षतामा केन्द्रीय दैवी प्रकोप उद्धार समितिको आज बसेको बैठकले विपद जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनका सन्दर्भमा समसामयिक निणर्यहरु गरेको छ।
हालको हावाहुरी र गर्मी मौसममा विपदजन्य जोखिमको स्थितिलाई सम्बोधन गर्न देशभरका नगरपालिकाहरुमा रहेको वारुणयन्त्रलाई चालु अवस्थामा राख्न तथा वारुण यन्त्र नभएको नगरपालिकाहरुले अनिवार्यरुपमा वारुण यन्त्र खरिद गर्ने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ।
सो बैठकले स्थानीय निकायहरुले आफ्नो आन्तरिक स्रोतको कम्तीमा पाँच प्रतिशत विपद जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनका लागि अनिवार्यरुपमा विनियोजन गर्न सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पहल गर्ने निर्णय समेत गरेको छ।
यसैगरी विपद व्यवस्थापन प्रतिकार्यको कार्यप्रक्रियालाई व्यवस्थित गर्न तयार गरिएको राष्ट्रिष्य विपद् प्रतिकार्य कार्यढाँचाको मस्यौदा र खोज तथा उद्धार क्षमता विकाससम्बन्धी अध्ययन कार्यदलले पेस गरेको प्रतिवेदनलाई आवश्यक निर्णय प्रक्रियाको लागि अगाडि बढाइएको र गण्डक बाँधको तटबन्ध कटानीको तत्काल मर्मत सम्भार गरी सम्भावित क्षति रोकथामका लागि सिँचाइ मन्त्रालय र परराष्ट्र मन्त्रालयले आवश्यक पहल गर्ने निर्णय गरेको छ। रासस