दोस्रो विहे गर्ने महिलालाई नागरिकतामा समस्या
समुन्द्र पौडेल, तनहुँ, चैत २५- श्रीमानको मत्युपछि स्याड्जा ढापुक भञ्ज्याङकी यमकला थापाले हालै तनहुँ भिमादका मुक्त बहादुर थापासंग दोस्रो विवाह गरिन्। गाउँ विकास समितिले उनीहरु दुबैको विवाह दर्ता गराई दिए पनि यमकलाले आफ्नो नागरिकतामा मुक्त बहादुरलाई श्रीमान् कायम गराउन सकिनन्।
अघिल्लो श्रीमान्संग सम्बन्ध विच्छेद नखुलेको भन्दै जिल्ला प्रशासन कार्यालय तनहुँले यमकलाको नागरिकता प्रमाणपत्रमा नयाँ पतिको नाम कायम नगरेको हो। 'मृत्यु भइसकेको पतिसंग अब कसरी सम्बन्ध विच्छेदको कागज ल्याउनु,' उनले भनिन, 'त्यो कागज बिना प्रतिलिपी नागरिकतामा नयाँ श्रीमान्को नाम कायम भएन्।'
पाल्पाको मदनपोखरा ३ माइत भएकी यमकलाले २०५७ सालमा स्याड्जाका कृष्ण बहादुर थापासंग विवाह गरेकी थिइन्। विवाहको ६ वर्षपछि बस दुर्घटनामा श्रीमान् गुमाएकी उनले २०६९ फागुन २८ गते भिमाद १ का मुक्त बहादुरसंग दोश्रो विवाह गरेकी हुन्। २०६३ मंसिर १७ गते पाल्पाको प्रवासमा भएको बस दुर्घटनामा कृष्ण बहादुरको मृत्यु भएको यमकलाले बताइन्। ढापुक भञ्ज्याङ गाउँ विकास समितिले समेत दुर्घटनामा कृष्ण बहादुरको मृत्यु भएको भन्दै मृत्यु दर्ताको प्रमाणपत्र जारी गरेको छ।
'सरकारले एकल महिलालाई प्रोत्साहन गरेको छ भन्ने सुनेको थिए,' उनले भनिन, 'मरेको मान्छेसंग डिर्भस कागज खोजेको देख्दा आफै छक्क परे।' जिल्ला प्रशासन कार्यालय स्याड्जाबाट जारी ६५३३२ नम्बरको यमकलाको नागरिकता प्रमाणपत्रमा श्रीमान्को नाम कृष्ण बहादुर थापा उल्लेख छ।
श्रीमान गुमाएका महिला वा दोश्रो विवाह गरेका महिलाहरुले नागरिकतामा पछिल्लो श्रीमान्को नाम कायम गर्न समस्या हुने गरेको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार नारायण पण्डितले बताए। 'नागरिकता प्रमाणपत्रमा पछिल्लो श्रीमान्को नाम कायम गर्न झण्डै आधा दर्जन महिलाले अदालतमा समेत फिराद दर्ता गराईसकेका छन्। ' उनले भने, 'कागजात अपुग भएका कारण यस्ता फिरादलाई बेञ्चमा लैजान सकिएको छैन।'
श्रीमानको नाम उल्लेख भएका महिलाको नागरिकताको प्रमाणपत्रमा अर्को श्रीमान्को नाम उल्लेख गर्न डिर्भस कागजात आवश्यक पर्ने जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले बताए। 'नागरिकतामा दोश्रो श्रीमान्को नाम कायम गराउन पहिलो श्रीमान्संग डिर्भस गरेको कागजात चाहिन्छ,' उनले भने, 'अदालतबाट जारी दोस्रो विवाह गरेको प्रमाण वा पहिलो श्रीमान्संगको डिर्भसको कागजात भएपछि मात्र नयाँ श्रीमानको नाम उल्लेख गर्न मिल्छ।'