संविधान लेख्‍न प्राज्ञिक, लोकतान्त्रिक शक्तिको बहुमत आउनुपर्छ : ओली

काठमाडौं, चैत २५- नेकपा एमाले नेता केपी ओलीले संविधान लेखनका लागि प्राज्ञिक, लोकतान्त्रिक र प्रजातान्त्रिक शक्तिहरूको बहुमत आउनुपर्ने बताएका छन्। एमाले कपन गाउँ कमिटीले शनिबार आयोजना गरेको सातौ गाउँ अधिवेशनको उद्‍घाट्न गर्दै उनले लोकतान्त्रिक र प्रजातान्त्रिक शक्तिहरूको बहुमत आउन नसक्दा संविधानसभा नै भङ्ग भएकोले अव लोकतान्त्रिक र प्रजातान्त्रिक शक्तिहरूको बहुमत आउनुपर्नेमा जोड दिए।



नेता ओलीले भने, -एमाओवादीको मुख्य उद्देश्य सक्ता कब्जा गर्ने थियो, संविधान लेख्नु थिएन, अघिल्लो संविधान सभाको निर्वाचनमा प्रजातान्त्रिक र लोकतान्त्रिक शक्तिको स्पष्ट बहुमत आएन, त्यसैले संविधान लेख्‍न सकिएन।

उनले संविधान सभाको निर्वाचन कात्तिकको अन्तिम हप्ता र मङि्सरको पहिलो हप्ता गरी दुई चरणमा गर्दा उपयुक्त हुने विचार राखे। संविधानसभाको निर्वाचनको मिति नसार्ने गरी, जुन मितिमा संविधान सभाको घोषणा गर्ने हो, त्यही मितिमा सम्पन्न गर्न सबै एकजुट भएर लाग्नुपर्छ,' नेता ओलीले भने।

वर्तमान सरकारको विषयमा बोल्दै नेता ओलीले चुनावी सरकारको निर्माण गर्नु बाध्यता भएको भन्दै राजनीतिक सङ्कट परेको हुनाले यस्तो सरकार बनाउनुपर्ने अवस्था आएको स्पष्ट पारे। कपन गाउँ कमिटीको अधिवेशनले नयाँ कार्यसमितिसमेत चयन गर्नेछ। रासस