बाबुरामलाई फालियो, असारमा चुनाब हुँदैन , रेग्मी सरकार कांग्रेसको उपलब्धी : पौडेल
३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाओवादीलाई सत्ताबाट निकालेर सडकमा फालिदिएकाले रेग्मीको नेतृत्वमा सरकार गठन हुनु कांग्रेसका लागि उपलब्धी भएको दाबी गर्नुभएको छ ।’कांग्रेसलाई बद्नाम गराउन एमाओवादीले फालेको पासो उसैको गलामा लगाएर हामीले सत्ताबाट बाहिर सडकमा फाल्दियौं ।’-मंगलबार अनलाइनखबरका अरुण बराल र माधव धितालसँग कुराकानी गर्दै नेता पौडेलले भन्नुभयो- ‘ सहमतिको सरकार बन्यो, देशलाई चुनावमा लगियो र देशले निकास पनि पायो, जसलाई हामीले उपलब्धीका रुपमा लिएका छौं ।’
बाबुराम नेतृत्वको सरकार फेर्न एमाओवादीको पनि सहमति आवश्यक भएकाले आफूहरुले अर्को सहमतिको बिन्दू नदेखेको र रेग्मीमा सहमति बनेको पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो- एमाओवादीको उद्देश्य सत्ता छाड्ने थिएन, उसले छाड्न तयार भएको देखाउनलाई मात्रै रेग्मीको नाम घोषणा गरिदियो । तर, हाम्रो घाँटीमा सुर्कानो लगाउन फालेको पासो हामीले उसैतिर फाल्यौं । यसलाई माओवादीको उपलब्धी भन्नु गलत हो ।’रेग्मी सरकारको बचाउ गर्दै नेता पौडेलले लोकतन्त्रको मूल्य र पार्टीहरुको अस्थित्व बचाउन पनि यो कदम आवश्यक रहेको र यसले शक्ति पृथक्कीकरणलाई सही ठाउँमा ल्याएको दाबी गर्नुभयो ।
उपसभापति पौडेलले असारमा चुनाब हुँदैन भन्ने आफूहरुलाई पहिल्यै थाहा भएको बताउनुभयो । ‘चुनाव असारमा हुन्छ भन्ने हामीलाई लागेकै थिएन । हामीलाई बाबुरामलाई फाल्नु थियो । यही भएर असारमा नभए मंसिरमा भनिएको हो ।’ रेग्मीको नेतृत्वमा सरकार गठन गर्ने प्रक्रियाको विरोध गर्नेहरु मथ्थर भैसकेको पौडेलले बताउनुभयो । ‘वकिलहरुले पनि विरोध गरेका थिए, अहिले उनीहरु पनि मथ्थर भएका छन् ।’- पौडेलले भन्नुभयो ।
संघीयतामा कांग्रेसले जोखिम नमोल्ने
संघीयतामा प्रदेशको संख्या र सीमांकन किटानी गरेर कांग्रेसले जोखिम मोल्न नचाहेको उपसभापति पौडेलले अनलाइनखबरलाई बताउनुभयो । प्रदेशहरुको संख्या विशेषज्ञहरुको अध्ययन अनुसन्धानपछिमात्रै तोक्न सकिने बताउँदै उहाँले यसबारे अन्य दलले पनि कांग्रेसले जस्तै प्रदेशबारे स्पष्ट खाका अघि नरासेको र सार्न नसक्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो- ‘राज्य पुनसंरचनामा यति नै हुनुपर्छ भनेर कांग्रेसले जोखिम मोल्न नखोजेको हो ।’
कांग्रेस महासमिति बैठक सफल भएको र आफूले पेश गरेको राजनीतिक प्रतिवेदन पारित भएको दाबी गर्नुभयो । ‘प्रतिवेदन पारित भएको छ, मैले नै केही साथीहरुका सुझाव समेट्न खोजेको हुनाले समिति बनाइएको हो ।’