बलियो कूटनीति प्रस्तुत गर्न प्रचण्डलाई कांग्रेस-एमालेको सुझाव
१३ वैशाख, काठमाडौं । नेपाली कांग्रेस र एमालेका नेताहरूले भोलिबाट सुरू हुने भारत भ्रमणका क्रममा परिपक्व कूटनीति प्रस्तुत गर्न एमाओवादी अध्यक्ष प्रचण्डलाई सुझाव दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा कांग्रेस नेता डा. रामशरण महतले एमाओवादीको विगि्रएको सम्बन्ध सुधार्न प्रचण्डको भारत भ्रमण हुन लागेको भन्दै आवश्यकता भन्दा बढी प्रचार गरिएको बताउनु भयो । प्रचण्डको भ्रमणलाई रुटिङ भ्रमणको संज्ञा दिँदै उहाँले भन्नुभयो-’यो राष्ट्र प्रमुखको भ्रमण होईन पार्टीको अध्यक्षको भ्रमण हो । त्यसैले यसमा पार्टीको सम्बन्ध सुधारको विषयमा बढी कुराकानी हुन्छ ।’
एमाओवादीले भारतसँगको सम्बन्धलाई आवश्यकता भन्दा बढी बनाउन खोजेको आशंका गर्दै उहाँले एमाओवादी र भारतको सम्बन्धमा सुधार भए पनि राष्ट्रलाई नै हानि गर्ने गरी सम्बन्ध विकास नगर्न सुझाव दिनुभयो ।
एमाले प्रचार विभाग प्रमुख प्रदिप ज्ञावलीले भारतलाई गाली गर्ने राष्ट्रवादलाई गल्ती ठानेर राष्ट्रको स्वार्थ अनुकुलको सम्बन्ध विकास गर्नु पर्छ भन्ने स्थितिमा माओवादी पुगेको भए त्यो मुलुकको लागि हितकर हुने बताउनु भयो । उहाँले भन्नुभयो-’भारतको विरोध गर्ने राष्ट्रवाद होइन । नेपालको हित राष्ट्रवाद हो भन्ने सन्देश भ्रमणबाट दिन सके भ्रमण उपलब्धि मुलक र सकारात्मक हुन्छ ।’ ज्ञावलीले विगतमा भारत र एमाओवादीको सम्बन्धमा चिसोपन हुँदा संविधान निर्माणमा असर परेको दावी गर्दै अब पनि अपरादर्शी रुपमा घनिष्ट सम्बन्ध बनाउँन खोजिए त्यसले मुलुकलाई घाटा गर्ने चेतावनी दिनुभयो ।
साक्षात्कारमा भारतका लागि पूर्न नेपाली राजदूत रहिसकेका कुटनीतिज्ञ भेषबहादुर थापाले दलहरुसँग छलफल नै नगरी त्रिदेशीय साझेदारीलाई प्रचण्डले राष्ट्रको एजेण्डा बनाउन खोजेकोमा दुख ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो-’यस्ता कुरा सर्वपक्षीय छलफल गरेर गर्नुपर्छ । त्यो नहुँदा भ्रमण अघि नै त्रिदेशीय साझेदारीको सवालमा परिपक्व नभएको कुरा भारतीय विदेशमन्त्रीबाट आएको हो ।’
पूर्व भारतीय राजदुत दुर्गेशमान सिहले उच्च नेताको विदेश भ्रमण मुलुकको लागि फाईदाजनक नै हुने भए पनि प्रचण्डको भारत भ्रमणका गहिरो रुपमा कुटनीतिक पहल नभएकोले आशंका ब्यक्त गर्नुभयो ।
नयाँ सम्बन्ध स्थपित गर्न प्रचण्डको भ्रमणःबोगटी
कार्यक्रममा एमाओवादीका महासचिव पोष्टबहादुर बोगटीले प्रचण्डको भ्रमण भारतसँग पार्टीको नयाँ किसिमको सम्बन्ध विकास गर्न केन्द्रीत हुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो-’भारतसँगको सम्बन्धमा विगतमा हाम्रो पनि केही कमिकमजोरी भए होला अब हामि नयाँ शिराबाट सम्बन्ध स्थपित गर्न चाहन्छौं ।’
पार्टीको सम्बन्धका अतिरिक्त दुई मुलुकको सम्बन्ध , आर्थिक विकास र छिमेकीको चासोको विषयमा पनि कुरा हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो-’पार्टीगत सम्बन्धका अतिरिक्त नेपालको विकासमा भारतको भूमिका, दुई मुलुकवीचको सम्बन्ध भारतको चासोको विषयमा कुराकानी हुन्छ । शीर्ष नेताको भ्रमणमा पार्टी बाहेक देशको विषयमा कुराकानी हुनु स्वभाविक हो । यो भ्रमणबाट नेपालले लाभ लिनुपर्छ ।’