दोहोरीका कलाकारको विरोधले भृकुटीमण्डपमा हंगामा

विश्व वौद्धिक सम्पत्ती’ दिवसको अवसर पारेर आयोजना भएको एक कार्यक्रममा लोकदोहोरी क्षेत्रका कलाकारहरुले हंगामा मच्चाएका छन् । नेपाल प्रतिलिपी अधिकार रजिष्टारको कार्यलयले आयोजना गरेको कार्यक्रममा आफुहरुलाई सम्बोधन नगरेको भन्दै ‘राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान’ का कलाकारहरुले विरोध गरेका हुन् ।



स्टेजमा सबै क्षेत्रका व्यक्तिहरुलाई बोलाएपनि आफुहरुलाई नबोलाएको भन्दै प्रतिष्ठानका सदस्यहरु विरोधमा उत्रिएका हुन् । विरोध पश्चात कार्यक्रम केही समय रोकिएको थियो । लोकदोहोरी प्रतिष्ठान काठमाण्डौ शाखाका अध्यक्ष शिव हमालको नेतृत्वमा कलाकारहरुले विरोध गरेका हुन् ।



विरोध पश्चात आयोजकलाई घटना साम्य पार्न धौ धौ परेको थियो । प्रतिष्ठानका कलाकारहरुले निरन्तर विरोध गरेपछि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यले उनीहरुलाई संझाउन प्रयास गरेका थिए । विरोधमा उत्रिएका हमालले भने, ‘हामीलाई नबोलाउने नियतले नै यसो गरिएको हो ।’



हंगामा भएपछि कार्यक्रममा प्रहरी प्रवेश गरेको थियो । प्रतिष्ठानको विरोध पश्चात कार्यक्रमको समय अवधि पनि छोट्टाइएको थियो । करिब आधा घन्टा विरोध गरेपछि प्रतिष्ठानका कलाकाहरुले कार्यक्रम बहिष्कार गरेका थिए ।
कार्यक्रममा लोकदोहोरी क्षेत्रका कलाकारहरुको बाहुल्यता देखिएको थियो ।