पाखुरामा ‘आई लभ यु’ लेखेर युवकले गरे आत्महत्या

बर्दिबास । महोत्तरी जिल्लाको बर्दिबासस्थित देउराली उच्च माविमा कक्षा ११ मा अध्ययन गर्ने १७ वर्षीय छात्र आज बर्दिबासकै नवक्षितीज उच्च माविको कक्षा कोठामा मृत फेला परेका छन् । बर्दिबास–७ का निजर कार्की आज बिहान सो विद्यालयको कक्षा कोठामा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । आफ्नो हातको पाखुरामा ‘आइ लभ यु …….’ लेखेका कार्कीले असफल प्रेमको कारण आत्महत्या गरेका हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी निरीक्षक बाबुराजा खड्काले जानकारी दिनुभयो । छात्रको शव परीक्षणका लागि जलेश्वर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । कार्कीले सोमबार राति आत्महत्या गरेको हुनसक्ने प्रनि खड्काले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।