रत्नपार्कमा राष्ट्रपति र मन्त्रिपरिषद् अध्यक्षको पुत्ला खोसाखोस

३ चैत, काठमाडौं । प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनको विरोधमा आन्दोलनरत नेकपा-माओवादीसहितका दलहरुले राष्ट्रपति डा. रामवरण यादव र अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको पुत्ला जलाएका छन् ।

आन्दोलनरत दलहरुले रत्नपार्कको शान्तिबाटिकामा कोणसभा गरी राष्ट्रपति अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्षको पुत्ला जलाएका हुन् । प्रर्दशर्नकारीलाई प्रहरीले रोक्न खोज्दा केहीबेर धकेलाधकेल भएको थियो । त्यसक्रममा केही बेर आन्दोलनकारी र प्रहरीबीच पुत्ला खोसाखोस भएको थियो ।

यसैबीच राष्ट्रिय जनमोर्चाले नेकपा-माओवादीसहितका दलहरुको आन्दोलनमा आफ्नो समर्थन नरहेको बताएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शनिबार विज्ञप्ति जारी गरि बन्द वा हडताल गर्ने, २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश ११ बुँदे सहमतिलाई जलाउने, प्रधानन्यायाधीश र चार दलका नेताहरुका पुत्लाहरु जलाउने आन्देालनमा आफूहरुको समर्थन नरहेको बताउनु भएको हो । प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएकोविरुद्ध आफ्नो स्वतन्त्र पहलकदमीमा वा माओवादी समेतसित मिलेर सामान्य प्रकारले विरोध प्रदर्शन वा सभा आयोजना गर्ने बाहेक अन्य कुनै कार्यक्रम नभएको विज्ञप्तिमा उल्लेख छ ।