पारस शाहको स्वास्थ्यमा सुधार आएन

संवाददाता – अचानक हृदयघात भएपछि थाइल्यान्डमा उपचार गराइरहेका पूर्व युवराज पारस शाहको स्वास्थ्य गम्भिर बन्दै गएको छ।



गत मंगलबार अचानक हृदयघाट भएपछि थाइल्यन्डको समितिभेज अस्पतालमा उपचार गराइरहेका शाहको स्वास्थ्य अझ गम्भिर बन्दै गएको छ । शनिबार अस्पतालले जारी गरेको विज्ञप्तिमा पारसको अवस्था नाजुक रहको उल्लेख गरिएको थियो । शनिबार पारसको अवस्था नाजुक रहेको बताएको अस्पतालले आइतबार अझ गम्भिर रहेको उल्लेख गरेको छ।



अस्पतालले पारसको अवस्थाबारे प्रत्येक दिन रिपोर्ट दिइरहेको छ । पारसको अवस्था अझै गम्भिर रहेकाले उनलाई लाइफ सपोर्ट मेसिनसाथ उपचार भइरहेको छ । उनलाई भेन्टिलेटरको सहायताले श्वासप्रश्वासमा राखिएको समेत अस्पतालले बताएको छ ।



पारसको स्वास्थ्य अवस्था खराब बन्दै गएको खबर पाए लगत्तै शुक्रबार दिउँसो १ : ५० बजेको उडानबाट पारसकी पत्नी हिमानी थाइल्यान्ड पुगेकी छन् ।

अस्पताल स्रोतलाई उदृत गर्दै थाइल्यान्डस्थित नेपाली दुतावासले पारसको स्वास्थ्य अन्त्यन्तै नाजुक भइसकेको जानकारी दिएपछि पारसको मृत्यु भएको हल्ला समेत फैलिएको थियो । पारसको बारेमा यस्ता हल्ला फैलिएपछि अस्वतालले गम्भिरता प्रदर्शन गर्दै प्रत्येक दिन पारसको स्वास्थ्य स्थितिको जानकारी गराउँदै आएको छ ।



शुक्रबार बिहानबाट शरीरका सबै अंगले काम गर्न छाडिसकेको अस्पताल स्रोतलाई उदृत गर्दै दूतावासले बताएको छ । दुई वर्षअघिदेखि बैंककमा बस्दै आएका पारसको स्वास्थ्य अवस्था अन्त्यन्त चिन्ताजनक भएको हो । पारस निकट स्रातले समेत पारसको स्वास्थ्य नाजुक भएको बताएको छ । पारसको मुटुको चाल र रक्तचाप स्थिर छ, मस्तिष्कले राम्रो प्रतिक्रिया दिन सकेको छैन ।