डेरीको दूधमा कास्टिक सोडाको मात्रा बढी

१८ फागुन, काठमाण्डौं । बालकदेखि वृद्ध र स्वस्थदेखि बिरामीसम्मलाई खुवाईने दूधमा स्वास्थ्यलाई प्रतिकूल असर पार्ने कास्टिक सोडा मिसाउने गरेको तथ्य खुलेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिहीबार पाँचखालस्थित दुग्ध डेरी चिस्यान केन्द्रमा मोवाईल भ्यान (घुम्ती प्रयोगशाला) मार्फत गरेको स्थलगत नमुना परीक्षणबाट सो तथ्य फेला परेको हो ।

अधिकांश डेरीले बजारमा शुद्ध दूधमा भनी बिक्री गरे पनि उपभोक्ताको स्वास्थ्यमाथि प्रत्यक्ष असर पार्ने दूध वितरण हुने गरेको पाइएको खबर राजधानी दैनिकले छापेको छ । विभागका खाद्यय निरीक्षक ईश्वर सुवेदीको नेतृत्वमा गएको अनुगमन टोलीले स्थलगत नमुना परीक्षण गर्दा अधिकांश डेरीले कास्टिक सोडा प्रयोग गरेको फेला परेको हो ।

तत्काल गरिएको नमुना परीक्षणबाट दुग्ध विकास संस्थान -डीडीसी), कालिका डेरी, काठमाण्डौं डेरी र भक्तपुर डेरीले दूधमा कास्टिक सोडा मिसाई बिक्री गर्ने गरेको पाईएको छ । ‘अनुगमनका क्रममा डेरीको चिस्यान केन्द्र अति फोहोर र दूषित पाइयो,’ खाद्य निरीक्षक सुवेदीले भने, ‘केन्द्रमा कहिले दूध ल्याएको हो भन्ने रेकर्ड पाईएन ।’अधिकांश चिस्यान केन्द्रमा भौतिक पूर्वाधार समेत राम्रो नभएको अनुगमनका क्रममा पाइएको छ ।