एक किलो कपालको दाम चार हजार

२२ पुस, मकवानपुर । मानिसको कपाल प्रतिकिलोको ४ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ भन्दा पत्यार नलाग्न सक्छ । तर, तपाई हाम्रै कपाल सैलुन वा पार्लरबाट प्रतिकिलो चार हजार रुपैयाँमा बिक्री भएको हुन सक्छ । ग्राहकहरुको काटिएको कपालका टुक्रा पार्लर वा सैलुनहरुका लागि अतिरिक्त आम्दानीको राम्रो स्रोत भनेको हुन सक्छ । चार इन्चभन्दा लामो कपाल किन्न व्यापारीहरु नै पार्लर वा सैलुनमा धाउने गरेका छन् ।

हेटौंडास्थित पार्लर र सैलुनहरुमा समय समयमा भारतको कोलकाताबाट व्यापारीहरु लामो कपाल किन्न आउने गरेको खबर राजधानी दैनिकले छापेको छ । हेटौंडामा विगत २५ बर्षदेखि पार्लर व्यवसाय सञ्चालन गर्दै आएकी मनु लामाका अनुसार भारतीय व्यपारीहरुले कपाल प्रतिकिलो कम्तीमा ३ हजार रुपैयाँमा किन्ने गरेका छन् । ‘मैले दुई पटक गरेर दुई किलो कपा ८ हजार रुपैयाँमा बेचेँ,’ उनले भनिन् । एक केजी कपाल संकलन हुन करिब तीन महिना लाग्ने लामाले बताइन् । भारतीयहरु गर्मीको समयमा कपाल किन्न हेटौंडाका व्युटीपार्लरहरमा आउने सञ्चालकहरुको अनुभव छ । उनीहरु नक्कली कपालको जुरो बनाउन सक्कली कपाल खरिद गर्ने गरेका छन् ।