११ सय ५० केजी दुर्लभ चिरुको रौँसहित दुई जना पक्राउ

२३ पुस, काठमाण्डौ । दुर्लभ बन्यजन्तुमा सूचिकृति चिरुको ११ सय ५० केजी रौँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुचनाका आधारमा खटिएको केन्द्रीय अनुसन्धान ब्युरोले गोरखा थुमी गाबिस-६ स्थित केउरुपानी र सोतिखोलामा विक्री वितरणका लागि भण्डारण गरिराखेको ४६ बोरा चिरुको रौं(शाहतुस), सहित गोरखा, थुमी-६ केउरुपानी की २५ वर्षीय शर्मिला बराम र गोरखा, थुमी-८ देउरालीका ३१ बर्षीय पूर्ण बहादुर गुरुङ लाई प्रक्राउ गरेको हो ।

रौंहरु एकदमै नरम र उच्च कोटीको हुने भएकोले तिनलाई शाहतुश अर्थात ऊनको राजा भन्ने गरिन्छ ।शाहतूशको प्रयोग बहुमूल्य शल बनाउनमा प्रयोग गरिन्छ, यसबाट बनेको सल अन्तराष्ट्रिय बजारमा समेत दुर्लभ र बहुमुल्य मानिन्छ। विश्व बजारमा चीरुको रौँवाट बनेको सललाई झण्डै २० हजार डलर पर्दछ । बरामद गरिएको रौँ संकलनका लागि सात हजार चिरु मार्नु आवश्यक हुने सीआइवीले जनाएको छ । उनीहरूले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तथा साइटिस महासन्धी १९७५ विरुद्दको अपराध गरेकाले त्यही अनुसारको सजाय पाउने प्रहरीले जनाएको प्रहरी उपरीक्षक इश्वरबाबु कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार यस्तो अपराध गरेमा ५ बर्ष देखि १५ बर्षसम्म कैद र ५० हजार देखि एक लाख रुपैयाँसम्म सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।