जापानमा नेपाली युवती तीन बर्षदेखि बेपत्ता

२३ पुस, काठमाण्डौ । समुन्नत जीवन जीउने सपना देख्दै जापान पुगेकी एक युवती करिव तीन बर्षदेखि बेपत्ता छिन् । सन् २००८ अप्रिलमा जापानको फोकुओकास्थित एसिया जापानिज एकडेमीमा जापानी भाषा अध्ययनका लागि आएकी सबिना महर्जन सन् २००९ यता कसैको सम्पर्कमा छैनन् । ललितपुर पाटन स्थायी घर भएकी सबिना फुकुओकाको मिनामी कुनोमामा रहेको ताकामिया स्टाइल भ्युको ६०१ नम्बर कोठाबाट २००९ अगष्ट २७ तारिकमा एकाएक सम्पर्कबिहीन भएकी हुन् । पाटनस्थित स्ट्यान्डर्ड जापानिज भाषा स्कुलबाट फुकुओका पुगेकी सबिना आफ्नै कोठाबाट हराएको ३ बर्ष बितिसक्दा पनि अनुसन्धान गरिरहेको प्रहरीले महर्जनको जानकारी पाउन सकेको छैन।

सबिना सम्पर्कबिहीन भएलगत्तै स्थानीय प्रहरीलाई जानकारी गराई खोजी कार्यको लागि अनुरोध गरिएको थियो । तर अहिलेसम्म पनि प्रहरीले सबिनालाई पत्ता लगाउन सकेको छैन् । सुरुसुरुमा कतिपयले सबिना लुकेको हुनसक्ने अनुमान गरेका थिए । तर, समय बित्दै जाँदा उनी परिवार, साथीभाई र आफन्तजनको सम्पर्कमा पनि आइनन् । ३ वर्ष बितिसक्दा पनि उनको अत्तोपत्तो नपाइनुले घटना झनै रहस्यमय बनेको छ । नेपाली बिद्यार्थी सम्पर्कबिहीन भएको ३ वर्ष बितिसक्दा पनि घटनाबारे न त यहाँको दुतावासले गहिराईमा पुगेर खोजीको लागि तत्परता नै देखाएको छ न त यहाँ रहेका सामाजिक संघ सस्थाहरुले नै । सबै नेपालीको अभिभावकको रुपमा रहेको दूतावासले केहि पहिले आफ्नो आधिकारिक होमपेजमा सार्वजनिक सूचना जारी गरेर झारा टार्ने बाटो गर्यो भने एनआरएन लगायतका संस्थाहरु सविना खोज्नेतिर गम्भिर नदिखएको परिवारले गुनासो गरेको छ । परिवारको पीडा सविनाका बुबा सानु महर्जन छोरी हराएदेखि बिलखबन्दमा छन् । एक दिनअघि हाँसिखुसी करिव आधा घण्टा फोनमा कुरा गरेकी एकाएक हराएको सुन्दा उनी छाँगोबाट खसेजस्तै भएका थिए । त्यसपछि उनले नेपालमा परराष्ट्र मन्त्रालय र प्रहरीमा जाहेरी दिए भने जापान पुगेरै छोरीको खोजी पनि गरे । तर, न त उनले छोरीको पत्तो लगाउन सके नत कसरी हराइन भन्ने अनुमान नै । महर्जनका अनुसार छोरीसँग खातामा करिव २ लाख ८० हजार येन थियो भने काम गरेको ठाउँबाट १ लाख २१ हजार तलव लिनै बाँकी थियो । त्यसमाथि बाबुले दिएको दुई हजार डलर पनि उनले साटेकी थिइनन् । ‘छोरीलाई पैसाको अभाव पनि थिएन भिसा पनि थियो’ महर्जनले काठमाण्डौमा टोक्यो नेपालसँग भने-’उनलाई भाग्नुपर्ने कुनै कारण थिएन, त्यस्तो योजना पनि थिएन, त्यसो भए त हामीलाई पक्कै भन्ने थिइन् ।’ आफु एक्लै भएकाले दिदीलाई पनि जापान ल्याउने योजनामा थिइन् सविना । दिदीले काठमाण्डौमै जापानी भाषा अध्ययन गरेर एप्लाई गर्ने तयारीमा थिइन् । दिदी-बहिनी सँगै बस्ने भन्दै खुसी भइरहेकी सबिना एकाएक हराएपछि परिवारले उनलाई कसैले अपहरण गरेर बेपत्ता बनाएको अनुमान गरेको छ । ‘त्यहाँ धेरै केटीहरुलाई त्यसरी अपहरण गरेर बेपत्ता बनाउने गरेको थाहा पाएँ’- बुबा सानु महर्जनले भने-’यसैले हो बेपत्ता बनाउने भनेर किटान गर्न सक्दैनौं, आफ्नै नेपालीलाई शंका पनि कसरी गर्नु ?’ उनले चलाउने साइकल केही दिनपछि बाटोमा भेटिएको प्रहरीले जानकारी दिएको थियो । यसको मतलव उनलाई बाटोबाटै अपहरण गरिएको हुनसक्ने परिवारले अनुमान गरेको छ । शिक्षा दिक्षा दिएर, १५ लाख रुपैयाँ लगानी गरेर छोरीको उज्जल भबिष्य बनाउने सपना साकार पार्न लाउँला खाउँला भन्ने उमेरकी छोरी जापान पठाएको महर्जन परिवार यतिखेर इन्तु न चिन्तुको अबस्थामा छ । ‘खै के भन्नु र हजुर ? म त केही बोल्न र सोच्न सक्ने अबस्थामा छैन’ महर्जनले भने-’छोरी हराएको ४१ महिना भइसक्यो, अब त आश मर्न लागिसक्यो ।’ छोरीको कसैसँग अफयेर नभएको बताउँदै उनले अपराधिक समूहले अपहरण गरेर बन्धक बनाएको हुनसक्ने बताए । ‘नेपालीहरुकै मिलेमतोमा छोरीलाई अपहरण गरेर बेचेको हुनसक्छ’ सबिनाका बाबुले भने- उ आफै मरेको, भागेको वा हराएको भन्ने कुनै आधार छैन् ।’ जापान पुगेर अनुसन्धानमा संलग्न प्रहरी, त्यहाँ संघसंस्था र भाषा स्कुलका मानिससँग हारगुहार गरेपनि छोरी पत्ता लाग्न नसकेको उनले सुनाए । फुकुओकामात्र हैन, टोक्यो पुगेर नेपाली राजदूतसँगै प्रहरी प्रमुखसँग भेट गरे पनि छोरीको कुनै पत्तो लागेन् । तत्कालिन परराष्ट्र सचिव मदनकुमार भट्टराई यतिखेर जापानका लागि नेपाली राजदूत छन् । जसले महर्जन परिवारको उजुरी लिएर धेरैपटक कुराकानी पनि गरेका थिए । महर्जन परिवारले त्यहाँको नेपाली समुदायले छोरीको खोजीका लागि स्थानीय प्रशासनलाई दबाब दिन नसक्दा र सहयोग नगर्दा छोरीको खोजीमा ढिलाई भइरहेको महसुस गरेको छ । निर्दोष भएर पनि जापानमा जेल जीवन बिताउन बाध्य मैनालीलाई सहयोग गर्न तत्पर भएजस्तै सविनाको खोजीका लागि पनि नेपाली समुदाय र अधिकारकर्मी तत्पर भए छोरी भेटिने आशमा महर्जन परिवार छ ।