बालिका नातिनी बलात्कार गर्ने हजुरबुवा पक्राउ
माघ ६ – महिला अधिकारकर्मीहरुको कडा चेतावनीपछि प्रहरीले नाताले नातिनी पर्ने बालिका बलात्कार गर्ने हजुरबुवालाई पक्राउ गरेको छ ।
महिला अधिकारकर्मीहरुले बलात्कारीलाई गिरफ्तार नगरे जिल्ला प्रहरी कार्यालय अगाडि नै अनशन बस्ने चेतावनी दिएपछि बलात्कारी हजुरबुबा धादिङ मैदी ९, छापथोकका साने सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । बलात्कार गरेर फरार भएको १५ दिनसम्म पनि प्रहरीले पत्ता लगाउन नसकेको अभियुक्तलाई चितवनस्थित खैरेनीका स्थानीयको सहयोगमा प्रहरीले गिरफ्तार गरेको हो । ५६ वर्षीय सार्कीले गत पुस २० गते साँझ घरमा खेलिरहेकी नातिनी नाता पर्ने ९ वर्षीया बालिकालाई खानेकुरा खानदिने प्रलोभन देखाएर कोठामा लगी जबरजस्ती करणी गरी फरार भएका थिए । चितवनको खैरेनीमा मितको घरमा आश्रय लिएर बस्दै आएका साने सार्कीलाई स्थानीय प्रहरीको सक्रियतामा नियन्त्रणमा लिएको हो । पक्राउपछि सार्कीलाई शुक्रबार बेलुकी प्रहरीले अधिकरकर्मी र सञ्चारकर्मीका सामु सार्वजनिक गरेको छ । उनलाई जर्वजस्ती करणीको ऐनअनुसार कारबाही प्रक्रियाअघि बढाइने प्रहरीले जनाएको छ ।