कान्तिपुरका मालिकले करोडौं खुवाएको खुलासा !

३ माघ, काठमाण्डौ । नेपालका मिडिया टाइकुनहरु आवरणमा प्रेस स्वतन्त्रता र प्रजातन्त्रको कुरा गरे पनि मिडियाकै दुरुपयोग गर्दै गोरखधन्दा चलाउने गरेको तथ्य सार्वजनिक हुँदै गएका छन् ।

हालै केवल अपरेटरहरुले इमेज च्यानलसहित सरकारी टेलिभिजनहरुको प्रसारण बन्द गरिदिएपछि त्यसभित्रका खेलहरु बाहिर आउन थालेका छन् । संचारमाध्यमको दुरुपयोग गर्दै सरकारमाथि दबाब सिर्जना गर्ने र त्यसैको त्रासमा करोडौंका महत्वपूर्ण लाइसेन्स हात पार्ने दुई मिडिया टाइकुनको चलखेलको परिणाम अहिले सवै च्यानलहरु केवलबाट बन्द हुने अबस्थामा पुग्दैछन् । प्रसंङ्ग हो- कान्तिपुर र इमेज च्यानलका संचालकहरुको घुसखोरी काण्डको । प्रसारण नियमावलीको संसोधन गराउँदै हालै उनीहरुले सुटुक्क मल्टिपल सर्भिस अपरेटरको लाइसेन्स लिएका छन् । यो यस्तो लाइसेन्स हो जसले अहिलेसम्म संचालित सवै केवल अपरेटरलाई डिजिटलाइजेसनका नाममा आफ्नो नियन्त्रणमा राख्न पाउँछ र हरेक च्यानलबाट बाषिर्क १ करोड २५ लाख रुपैयाँसम्म रोयल्टी लिन पाउँछ । यो लाइसेन्स लिएका छन- इमेज टेलिभिजनका संचालक आरके मानन्धरले । जसको सवै प्रबन्ध मिलाउने काम गरेका थिए कान्तिपुर पब्लिकेसनका कैलाश सिरोहियाले । सिरोहिया र मानन्धर मिलेर सवै केवल अपरेटरको घाँटी अठ्याउने लाइसेन्स लिएको कुरा केही समयसम्म गोप्य रहे पनि धेरै दिन छिप्न सकेन् । हाल डाइरेक्ट टु होम (डीटीएच) प्रबिधिबाट च्यानल बेचिरहेको डिस होम मिडियाका समेत अध्यक्ष रहेका कैलासले सुटुक्क अर्को लाइसेन्स लिएको कुरा बोर्ड बैठकमा सार्वजनिक भयो । दुई जना मात्र मिलेर अर्को कम्पनी खोलेको र त्यसमा पनि डिसहोमकै चिनियाँ साझेदारलाई राख्ने तानाबाना बुनिएको थाहा पाएपछि अन्य संचालक कैलास र मानन्धरमाथि खनिए । सिरोहियाले भने संचार मन्त्रायलयका अधिकारीलाई ५ करोड खुवाएर लाइसेन्स लिएको जानकारी दिंदै डिस होम र एमएसओ कम्पनी मिलेर जान सके कुस्त नाफा कमाउन सकिने बि्रफिङ गरेको बुधबार प्रकाशित जनआस्था साप्ताहिकले छापेको छ । ५ करोड खुवाएको कुरा सुनेपछि चिनियाँ पक्षले सो कम्पनीमा बस्न त्यति रुची नदेखाएको र कम्पनीका अन्य साझेदारले पनि कम्पनीलाई धोका दिएर अर्कै कम्पनी खोलेको भन्दै आक्रोश देखाएको बताइएको छ । साना लगानीकर्ताले कैलासलाई अध्यक्षबाट हटाउने प्रस्ताव गरेको भएपनि तत्कालका लागि डिसहोमको बिज्ञापन कान्तिपुर टीभी र पत्रिकामार्फत प्रकाशन/प्रसारण गर्नेगरि थामथुम गरिएको थियो । करोडौं कमाउने लाइन मिलाउन प्रसारण नियमावली संसोधन गराइ साना ब्यबसायीलाई उठिबास लगाउन खोजेको भन्दै केवलवालाहरु इमेज र कान्तिपुरविरुद्ध खनिए । तर, कान्तिपुर र इमेजले यो प्रकरणलाई राजनीतिक रंग दिंदै सरकारको दबाबमा इमेज बन्द गरिएको प्रचार गराउन थालेका छन् । तर केवल संचालकहरुले भने चरणबद्ध आन्दोलनका क्रममा मंगलबारदेखि नेपाल टेलिभिजन र एनटीभी प्लस पनि बन्द गराएका छन् ।