नपत्याउने काम, गज्जबको दाम ! (फोटोसहित) कामको सम्मान नभएको गुनासो

२४ पुस, काठमाडौं । काम छैन भनेर बरालिने र जागिरको लागि चारतिर भौंतारिनेहरु भन्छन्- ‘देशमा काम गर्ने ठाउँ नै छैन, बेरोजगार भइयो ।’ तर, यही समाजमा सानातिना काम गरेर मनग्गे कमाउनेहरु प्रशस्तै छन् । सडकपेटीमा नाङ्लो पसल थाप्ने, चटपटे बेच्ने, ठेलागाडा धकेल्ने, भारी बोक्ने, कपडा धुने र बच्चा स्याहार्ने र साइकलमा तरकारी ओसार्ने जस्ता काम गर्नेहरुको कमाइ सरकारी हाकिमको भन्दा कम छैन । ‘मेहनत र धैर्य गर्ने हो भने आफ्नै गाउँठाउँमा बसेर मजाले आम्दानी गर्न सकिन्छ ।’ सडकमा ‘साना’ काम गर्नेहरु भन्छन्- ‘सानोतिनो व्यवसाय गर्ने मान्छेलाईर् हेप्ने चलन बदलिनै पर्छ र कामलाई सम्मान गर्ने चलन शुरु गरिनुपर्छ ।’ यस्तै काम र सोचाइ भएका केही जाँगरिला मान्छेहरुलाई हामीले राजधानीमा भेटेका छौं

७५ पैसा पोका दूध बेच्ने मनबहादूर

भोजपुरका मनबहादुर राई ठेलामा दूध राखेर काठमाडौंको चोकचोकमा पुग्नुहुन्छ । ‘मैले काम थाल्दा दूधको भाउ पोकाको ७५ पैसा थियो ।’ ७२ वर्ष उमेर काटेका राईले भन्नुभयो-’हेर्दाहेर्दै भाउ कहाँबाट कहाँ पुग्यो, मचाहिँ जस्ताको तस्तै ।’ दूधको मूल्यजस्तो उहाँको आम्दानी त बढेको छैन । तर, उहाँ आफ्नो कामप्रति सन्तुष्ट हुनुहुन्छ । ‘दिनको ५/६ सय रुपैंया -मासिक १८ हजारसम्म) कमाउँछु ।

काम गर्नेलाई केको जाडो ?
पाँच वर्षपछि राजधानीको तापक्रम माइनसमा पुगेपनि यही राजधानीमा बस्ने काभ्रेका रामबहादुर भण्डारीलाई त्यति जाडो लागेको छैन । ‘बिहान उठ्ने काममा निस्कने, रिक्सा तान्ने हिँड्ने, खै मलाई त जाडो बढेको जस्तै लागेको छैन’ चप्पल र पातलो कपडा लगाएर रिक्सामा भारी तानिरहेका भण्डारीले भन्नुभयो-’काम गर्नेलाई केको जाडो ? जाडो त अल्छीलाई मात्रै लाग्छ ।’ जाडोमा पनि काम गरेर नथाक्ने भण्डारीले दिनमा पाँच सयदेखि सातसय रुपैंयासम्म कमाउनुहुन्छ । ‘बिहान उठेर काममा निस्कँदा दाम त मिलिहाल्छ’ उहाँले थप्नुभयो-’त्यसमाथि ट्याम पनि पास, जाडो पनि खलास ।’ माथिका यी उदाहरणीय व्यक्तित्व प्रतिनिधि पात्र मात्रै हुन् । सानोतिनो काम गरेर आफू र परिवारको गुजारा चलाउने मात्रै होइन, जग्गाजमीन जोड्नेहरु पनि हाम्रो समाजमा प्रशस्तै छन् । यस्तो चर्को महंगीमा पनि आफ्नै देशमा काम गरेर पैसा बचाउन सक्ने यी महान् मान्छेबाट तपाई-हामीले पनि पाठ सिक्ने हो कि ?

आमालाई सघाउने ‘साना दर्जी’
सर्लाहीका १४ वर्षीय दीपक सुन्दासले आमाले काम गरेको हेर्दाहेर्दै लुगा सिलाउन सिके । अहिले उनी आमालाई सघाउने पक्का ‘दर्जी’ भएका छन् । काम खोज्दै राजधानी पसेको उनको परिवारले यही कल घुमाउन सिक्यो । दिनभरि कल चलाएर जम्मा भएको पैसाले सुन्दासको परिवारको गुजारा चल्छ । कल चलेन भने गुजारा पनि चल्दैन । ‘अहिलेसम्म काम पाइएन भन्न परेको छैन’ सडकपेटीको एकातिर कल राखेर लुगा सिइरहेका दीपकले भने-’दिनमा ५ सयदेखि ७ सय रुपैंयासम्म कमाइ हुन्छ, घरखर्च मजाले चलिरहेको छ ।’

बदामे आमै
नुवाकोटकी ५६ वर्षीया यी आमैलाई घरगाउँले र आफन्तले ठूलीमाया तामाङ भनेर चिन्छन् । कसैकसैले ठूली पनि भनेर बोलाउँछन् । तर, राजधानी पसेर काम गर्न थालेपछि उहाँको नाम फेरियो । गाउँका आफूजस्तै दौंतरीहरुले बदाम बेचेको देखेर उहाँले पनि त्यही काम थाल्नुभयो । सडकमा डालो राखेर बदाम बेच्दाबेच्दै उहाँलाई धेरैले बदामे आमै भनेर बोलाउन थाले । ‘जे भनेर बोलाए पनि के भो र, मेरो काम बदाम बेच्ने हो’ आमैले भन्नुभयो- ‘जे जानियो, जे थालियो, त्यही काम गर्दैछु ।’ बदाम बेचेर दिनमा ३/४ सय रुपैंयासम्म कमाइ हुने ठूलीमायाले सुनाउनुभयो । तर, उहाँ बदाम मात्र बेच्नुहुन्न । बदाम बेच्न बसेका बेला कपासको बत्ति पनि कात्नुहुन्छ । ‘बुढेसकालमा मलाई किन चाहियो धेरै पैसा ?’ सन्तुष्ट हुँदै आमैले भन्नुभयो-’छोराहरुले कमाइ हाल्छन्, मैले पनि यसो भरथेग गर्ने हो ।’

आफूभन्दा अग्लो भारी
धादिङका कुमार भण्डारीलाई पढ्न त्यति जाँगर चलेन । काम खोज्दै राजधानी पसे । यताउता केही नसोची तुरुन्तै पाइहाल्ने भारी बोक्ने काममा हात हाले । राजधानीका ठाउँ-ठाउँमा रिक्सामा भारी खेपेर ओहोर-दोहोर गर्नु उनको दैनिकी हो । ‘काम पाइएन भनेर खाली बस्नु पर्दैन’ आफूभन्दा अजंगको भारी खप्ट्याएर रिक्सामा हिँड्दै गरेका उनले भने-’दिनको चार-पाँच सय रुपैंया बचत हुन्छ, खान मजाले पुगिरहेको छ ।’

भित्तो सुम्सुम्याउने शर्मिला
गोरखाकी शर्मिला थापा दुई वर्षअघिसम्म आफ्नै घरमा गोबरमाटोले लिपपोत गर्नुहुन्थ्यो । तर, अहिले उहाँको अरुको घर र पर्खालमा सिमेन्ट पोत्ने काम गर्नुहुन्छ । काम खोज्दै शहर पस्ने क्रममा उहाँले ज्यामी काम सिक्नुभयो । यही काममा आफूलाई खार्दै लैजानुभयो । ‘जे इलम जान्यो, त्यही त गर्ने हो नि’ राजधानीको सानेपामा सडकवाल बनाउने काममा व्यस्त शर्मिलाले भन्नुभयो-’सन्तुष्ट नै छु, खाली हात बस्न परेको छैन ।’ दिनमा चार पाँचसयदेखि कहिलेकाहीँ हजार रुपैंयासम्म कमाई हुने उहाँले सुनाउनुभयो ।

२२ वर्षदेखि हाते ट्याक्टर
काभ्रेका पुष्पबहादुर थापाले हाते ट्याक्टर चलाउन थालेको २२ वर्ष भयो । ‘पहिलेदेखि यही काम थालियो, अरुतिर हात हालिएन’ थापाले भन्नुभयो-’हेर्दाहेर्दै दुईदशक नाघिसकेछ ।’ नयाँ घर बनाउन चाहिने बालुवा, सिमेन्ट, इर्ंटालगायतका सामग्री ओसार-पसार गर्न उहाँलाई खोज्दै मान्छेहरु आइपुग्छन् । ललितपुरको पुल्चोक नजिकै अरु सहकर्मीसँगै ट्याक्टर लाइनमा राखेर काम पर्खिरहेका उहाँले भन्नुभयो-’कहिलेकाहीँ त यत्तिकै खाली हुन्छ, तर धेरैजसो काम पाइन्छ । दिनको पाँचसयदेखि कहिलेकाहीँ हजार रुपैंयासम्म कमाइ हुने उहाँले बताउनुभयो । यो हिसाबले थापाको मासिक कमाइ १५ हजारदेखि ३० हजारसम्म हुन्छ । ‘तर हामीलाई ट्राफिकदेखि बाटो हिँड्नेसम्मले हेप्छन्’ थापाले गुनासो गर्दै भन्नुभयो-’सरकारले हामीलाई कहिल्यै वास्ता गरेन, हाम्रो कामको सम्मान छैन ।’

काम खोज्दै भारतबाट
धेरै नेपाली कामका लागि भारतलगायत विदेशका धेरै ठाउँ पुगेका छन् । तर, भारतबाट नेपाल आएर बिभिन्न पेशा व्यवसाय गर्नेहरुको संख्या पनि धेरै छ । कपाल काट्ने, तरकारी-फलफूल बेच्ने, चटपटे र पानीपुरी बेच्ने जस्ता काममा लागेका भारतीय धेरै छन्-नेपालमा । तिनैमध्येका एक हुनुहुन्छ, मोतिहारीका रामस्वरुप पण्डित । काठमाडौंका सडक-सडकमा पानीपुरी बेच्दै हिँड्ने पण्डितले दिनमा ५ देखि ६ सय रुपैंया कमाउनुहुन्छ । ‘अरुले कमाएको देखेर लोभ गर्नु पनि हुन्न, केही भएन भनेर आत्तिन पनि हुँदैन’ पण्डितले भन्नुभयो-’मेहनत र धैर्य गर्ने हो भने सानोतिनो कामबाट पनि कमाइ गर्न सकिन्छ ।’

रिक्सामै खाजाघर
काभ्रेकी शान्ता रेग्मीले राजधानी आएर काम थालेको चार महिनामात्रै भयो । ‘पैसा कमाउन भनेर राजधानी आएँ, अरु साथीहरुले देखेर गर्न थालेको राम्रै भैरहेको छ’ शान्ताले भन्नुभयो । शान्ताको रिक्सा घरमा चिया, अण्डा, खाजा धेरै परिकार पाइन्छ । होटलमा भन्दा सस्तोमा पाइने भएकाले खाजा खाने धेरैले यस्तै ठाउँ रोज्छन् । ‘दिनको ५ सयदेखि कहिलेकाहीँ एकहजार रुपैंयासम्म पनि कमाइ हुन्छ’ शान्ताले भन्नुभयो ।

पुरा हेर्नुहोस्