बलात्कार र हत्याले बलिउड नयाँ वर्ष नमनाउने 'मुड'मा

दिल्लीमा सामूहिक बलात्कारको सिकार भएकी युवतीको मृत्युले मायानगरीलाई पनि शोकमा डुवाएको छ। फिल्म उद्योगमा रहेकाहरु यसको विरोधमा अग्रपंक्तिमा उभिए। उनीहरु बलात्कार र हत्याको विरोधमा मात्र सरिक रहेनन्, त्यसैको शोकमा नयाँ वर्षका लागि तय गरेका कार्यक्रमहरु पनि क्यान्सिल गर्न पछि परेनन्। स्रोतका अनुसार बलिउड महानायक अमिताव बच्चनको परिवारले नयाँ वर्ष नमनाउने भएको छ। दिल्लीमा भएको घटनाले अमिताव र जया दुबै निशब्द रहे। उनीहरुले नयाँ वर्षमा तय गरेको कार्यक्रम रद्ध गरे। बच्चन परिवारमात्र होइन फिल्म उद्योगमा सक्रिय कपुर परिवार पनि यही पंक्तिमा उभियो। ऋषि, नीतु र रनवीरले आफ्नो पूर्व योजना रद्ध गरे। हेमा मालिनीले इशा देवल र ज्वाँइसँग रमाइलो गर्ने तय गरेकी थिइन्। उनले त्यो कार्यक्रम रद्ध गरिन्।

यी सबैजसो कलाकारले सो विजमा आफ्नो कार्यक्रमलाई नदेखाउने निश्‍चित गरेका छन्। 'यस्तो अवस्थामा हल्ला गर्ने कुरा पनि होइन र रमाइलो मनाउने पनि कुरा होइन,' एक सेलिब्रिटीले सुनाए। सवाना आजमीले आफ्ना कवि पति जावेद अख्तरसँग घरमा नै न्यू इयर पार्टीको आयोजना गर्ने तय थियो। अब उनी रमाइलो गर्ने मुडमा छैनन्। 'हामी नयाँ वर्षमा केही गर्ने स्थितिमा छैनौं,' उनले भनिन्, 'भारतीय छोरीहरुको सुरक्षाकै प्रश्‍न उठिरहँदा हामीले कसरी रमाइलो गर्न सक्छौं।'