नेता र मन्त्रीहरु लोडसेडिङको अँध्यारोमा के गर्दैछन् ? प्रचण्ड र झलनाथका इन्भर्टर काम नलाग्ने

१२ पुस, काठमाडौं । दिनमा १२ घण्टासम्म हुन थालेको चर्को लोडसेडिङले सर्वसाधारण त हैरान छन् नै, लोडसेडिङ गर्ने सरकारका मान्छे र लोडसेडिङ हटाउनुपर्छ भनेर भाषण गरी हिँड्ने शीर्ष नेताहरु पनि उत्तिकै हैरान हुन थालेका छन् । सहमतीय प्रधानमन्त्री फेला पार्न नसकेर हैरान भएका शीर्ष नेताहरुलाई लोडसेडिङको बारेमा राम्रोसित सोच्ने फुर्सद छैन । तर, उनीहरुलाई पनि लोडसेडिङले उसैगरी हैरानी गरेको छ । हुन त प्रायः सबै नेताहरुको घरमा इन्भर्टर, सोलार या अरु वैकल्पिक व्यवस्था छ । नुहाउनको लागि तातो पानी, लेखपढको लागि उज्यालो । तर उनीहरुले पनि बिजुली बत्ती भएको बेलामा जस्तो नभएको बेलामा धित मर्नेगरी कामधन्दा गर्न पाएका छैनन् ।

लोडसेडिङ घटाउन नानाथरि उपाय सोचिरहने प्रधानमन्त्री डा. बाबुराम भट्टराईको निवास बालुवाटारमा पनि अन्यत्र जस्तै बत्ती जान्छ । तर, त्यहाँ जेनेरेटरको भरपर्दो व्यवस्था छ । कोठाभित्र बस्दा जेनेरेटरको उज्यालोले लोडसेडिङ भए नभएको त पत्तो हुँदैन । तर प्रधानमन्त्रीले पनि लोडसेडिङको असर महसुस गर्नु हुने बालुवाटार स्रोतले जनाएको छ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा प्रधानमन्त्रीको जति सुविधा छैन । पहिले जेनेरेटर थियो । अहिले इन्भर्टर मात्र छ । पुरानो इन्भर्टर भएकाले त्यति काम गर्दैन । बत्ती बाल्नको लागि मात्र ठीक्क हुन्छ । प्रायः भेटघाटमै व्यस्त हुनुपर्ने भएकाले प्रचण्डलाई बत्ती भएको बेला पनि लेखपढ गर्ने फुर्सद हुँदैन । प्रचण्डको निवासमा सोलारको व्यवस्था पनि छैन । नुहाउनको लागि विद्युत्तीय गिजर राखिएको छ । खाना ग्यासमै पाक्छ ।
कांग्रेस सभापति सुशील कोइरालाको निवासमा चाहिँ जेनेरेटरको व्यवस्था छ । त्यसैले उहाँलाई लोडसेडिङले त्यत्तिको असर गर्दैन । नुहाइ-धुवाइका लागि चौबीसै घण्टा तातो पानी आउने सोलार छ । एमाले अध्यक्ष झलनाथ खनालको घरमा दुईवटा इन्भर्टर छ । तर, एउटाले त्यति राम्रो काम गर्दैन । इन्भर्टर चार्ज गर्नका लागि पनि बिजुली आउने समय कुर्नुपर्छ । सामान्य लेखपढको कामचाहिँ उहाँले इन्भर्टरकै माध्यमबाट गर्नुहुन्छ । लेखपढ गर्ने बानी भएकाले इन्भर्टरबाट कम्प्युटर पनि चल्छ । खनालको घरमा पनि सोलार छ । खाना चाहिँ ग्याँसमै पाक्छ । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणको घरमा पनि एउटा इन्भर्टर छ । यसले कम्प्युटर चलाउने काम मात्र हुन्छ । तर इन्भर्टरले सधैं काम गर्दैन । लोडसेडिङ हुँदा उज्यालोका लागि घरबेटीले सोलार बत्तीको व्यवस्था गरिदिएको भए पनि बुधबार वैद्यले डेरा सरेका पनि सोलारको उज्यालो पाउन छाडेका छन् । डेरा सर्नुअघिसम्म बाथरुममा ग्यास गिजर पनि घरबेटीले नै राखिदिएका थिए । नयाँ कोठमा अब यत्तिको व्यवस्था होला या नहोला भन्ने वैद्य परिवारलाई पिरलो परेको छ ।