बुढो गोरु कांग्रेसले खेतीपाती गर्न सक्दैन : नेपाल

झा गएर पार्टीलाई केही हुन्न-

उपेन्द्र लामिछाने, काठमाडौं, चैत २४- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेस बुढो गोरु भएकाले उससँग कुनै खेतीपाती नहुने बताएका छन्। कांग्रेसले कुनै खेतीपाती गर्न नसक्ने भएकाले अबको निर्वाचनमा नेकपा एमालेलाई बहुमत दिलाउन उनले आग्रह गरे।



'कांग्रेस बुढो गोरुजस्तै हो, ऊसँग खेतीपातीको आश गर्नु हुँदैन,' काठमाडौं, क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनको उद्‍घान गर्दै नेता नेपालले भने, 'न उसले हलो बोक्न सक्छ, न खेतीपाती नै गर्न सक्छ।'

उनले कांग्रेसलाई एमाओवादीले जे भन्छ त्यतैतिर लतारिने भएकाले नै उसँग अब खेतीपाती गर्ने हैसियत नभएको बताए। 'एमाओवादीको अगाडि कांग्रेस लतारिन्छ,' उनले भने, 'अरुको अगाडि लम्पसार पर्ने पार्टीले कसरी संविधान लेख्छ।'

उनले एमाओवादी पनि विश्‍वास नभएको पार्टी भएको बताए। 'एमाओवादी विश्‍वास नभएको पार्टी हो,' उनले भने, 'उसले आफैं सहमति गरेर आफैं उल्लघंन गर्छ।' उनले एमाओवादीले पहिलो संविधान सभा निर्वाचनमा धेरै सिट ल्याएकैले संविधान नबनेको बताए।

उनले भोलिका दिनमा संविधान बनाउन नेकपा एमालेलाई बहुमत दिलाउनुपर्ने जोड दिए। 'यो देशमा संविधान बनाउनलाई एमालेलाई बहुमत दिलाउनुस्,' उनले भने, 'अनिमात्र जनताले चाहेको संविधान बनाउन सम्भव छ।'

उनले एमाले परित्याग गरेर एमाओवादीमा प्रवेश गर्दै गरेका रामचन्द्र झलाई लछित गर्दै त्यस्ता नेताले एमालेलाई कुनै फरक नपर्ने बताए। 'त्यस्ता नेता आउँछन्, जान्छन्,' उनले भने, 'त्यस्ताले नेकपा एमालेलाई कुनै फरक पर्नेवाला छैन।'

उनले त्यस्ता नेतालाई जुन थालमा खायो, त्यही थालमा प्वाल पार्ने प्रवृत्तिको संज्ञा दिए। उनले रामचन्द्र झालाई भोलिका दिनमा भयंकर गल्ती गरेको महसुस हुने बताए। ‍

रामचन्द्र झा आजै एमाओवादीको धादिङमा आयोजित कार्यक्रमबाट एमाओवादीमा प्रवेश गरेका छन्।