ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर खोजीको सुचीमा, एक महिनादेखि गायव

२३ जेठ, काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाहाका छोरीज्वाइँ राजबहादुर सिंहलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। क्यासिनोमा गैरकानुनी रुपमा नेपालीलाई जुवा खेलाएको आरोपमा प्रहरीले खोज्न थालेपछि उनी फरार छन् ।



सिंहलाई परार प्रतिवादी बनाई प्रहरीले जिल्ला अदालत काठमाण्डौंमा मुद्दा दायर गरेको छ । डेढ महिना खोज्दा पनि उनी अझै भेटिएका छैनन् ।

सिंहले दरबारमार्गस्थित याक एन्ड यती होटल परिसरमा रोयल क्यासिनो सञ्चालन गर्दै आएका छन् । सो क्यासिनोमा जुवा खेलिरहेका नेपालीलाई प्रहरीले बारम्बार पक्राउ गर्दै आएको छ । क्यासिनोमा विदेशीलाई मात्र जुवा खेल्ने अनुमति भए पनि नेपालीलाई समेत जुवा खेलाएको आरोपमा सिंहलाई महानगरीय प्रहरी परिसर काठमाण्डौंले पक्राउ पुर्जी काटेको हो ।

सिंहलाई पक्राउ गर्न काठमाण्डौं परिसरले मातहतका अधिकारीलाई सर्कुलर पनि गरेको छ । तर उनलाई अझै पक्राउ गर्न सकिएको छैन ।

वैशाख १ गते महानगरीय प्रहरी प्रभाग दरबारमार्गले रोयल क्यासिनोमा छापा हानी ११ नेपालीलाई पक्राउ गरेको थियो ।

- नयाँ पत्रिका