दस मोटरसाइकलसहित चोर पक्राउ
काठमाडौं, चैत २६- ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूबाट विभिन्न मितिमा चोरी भएका मोटरसाइकलसहित चारजनालाई पक्राउ गरेको छ। ट्राफिक प्रहरी प्रवक्ता पवन गिरीले आइतबार दिएको जानकारीअनुसार राजधानी र आसपासका जिल्लाबाट हराएका ती मोटरसाइकल यही चैत २३ गते मकवानपुर जिल्लामा फेला पारिएको हो।
उनका अनुसार धादिङको धार्केबाट हराएको बा ४८ प ३६०३ डिस्कभर, बल्खुबाट बा ५० प ६७४ नम्बरको पल्सर, गोंगबुबाट बा ४२ प ८४१४ नम्बरको पल्सर, धोबीघाटबाट बा ४६ प ७७५६ नम्बरको पल्सर, बानेश्वरबाट मिति २०६५/७/१४ गते हराएको बा २९ प ८१७७ नम्बरको डिस्कभर, घट्टेकुलोबाट हराएको को ४ प ७४३३ , चाबहिलबाट हराएको बा ४४ प ९९६७ नम्बरको र प्रहरीमा हराएको भनी निबेदन नपरेका बा २५ प ११६२ नम्बर , बा ४७ प ७५१५ नम्बरको पल्सर र बा ३४ प ४१२० नम्बरको पल्सर मोटरसाईकल समेत १० वटा मोटरसाइकल मकवानपुरको गल्छी, गैरीगांउ र पालुङबाट बरामद गरिएको हो।
मोटरसाइकल ट्राफिक प्रहरी महाशाखा पीडित सहायता इकाइबाट खटिएको विशेष प्रहरी टोलीले फेला पारेको हो।
प्रहरीले चोरीमा सङ्लग्न मकवानपुर आग्रा-६ का राजेन्द्र तामाङ, दोलखा डाडाखर्क-९ राकेश भन्ने निकेश लामा, काभ्रे पुरानो गाउँ-१ का हरिकृष्ण श्रेष्ठ र मकवानपुर दामन-६ का आक्रोश केसीलाई पक्राउ गरिएको जनाएको छ। वास्तविक नम्बर प्लेट परिवर्तन गरी चलाइराखेको अवस्थामा उनीहरूलाई मोटरसाइकलसहित पक्राउ गरिएको प्रवक्ता गिरीले जानकारी दिए।
मोटरसाइकलसहित पक्राउ परेकाहरूलाई थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर हनुमानढोकामा बुझाइएको छ। त्यस्तै विभिन्न मितिमा हराएका छवटा मोटरसाइकलसमेत ट्राफिक प्रहरीले फेला पारी सम्बन्धित धनीलाई बुझाइएको प्रवक्ता गिरीले जानकारी दिए। रासस

