छोरीलाई बिष खुवाई आमाद्वारा आत्महत्या

दाङ चैत २६ - दाङमा एक महिलाले आफ्नी एक वर्षीया छोरीलाई बिष खुवाई हत्या गर्नुका साथै आफूले पनि सेवन गरी आत्महत्या गरेकी छिन्। जिल्लाको मानपुर २ सन्हेवाका २१ वर्षीया सानु चौधरीले आफ्नी छोरी र आफ्नै हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। चौधरीले आइतबार राती १० बजेतिर आँफूसँगै छोरीलाई बिष खुवाएकी हुन्।


 बिष सेवनबाट सिकिस्त आमा छोरीलाई घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पताल ल्याउँदै गर्दा उनीहरुको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। राती २ बजेतिर जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरीले त्यहाँ बिषको सिसि फेला पारेको थियो। बिष सेवनको कारण भने खुलिनसकेको र अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्लले बताए। केही दिनअघि जिल्लाको देउखुरी सतबरियामा पनि एक महिलाले आफूसँगै दुई छोराको हत्या गरेकी थिइन्। - नागरिक