मुम्बईमा एकै परिवारका पाँच जना नेपालीको शव

२६ चैत, काठमाण्डौ । दुई दिनअघि मुम्बईको थाणेमा सात तले भवन भत्किंदा मृत्यु हुनेमध्ये ५ जना नेपाली रहेको खुलेको छ ।

भारतीय दैनिक पत्रिका टाइम्स अफ इण्डियाको अनलाइन संस्करणका अनुसार भवन भत्किएको ४० घण्टापछि एकै परिवारका पाँच जना नेपालीको शव बाहिर निकालिएको छ ।



मृत्यु हुनेमा ३२ बषिर्य मुजाहिद राजा, उनकी श्रीमति, दुई छोरी र ज्वाईं रहेका छन । उनीहरुको नेपालको ठेगाना भने खुलाइएको छैन ।

आफ्नो काममा सहयोग पुगोस भनेर मुजाहिदले ६ महिनाअघिमात्र श्रीमती, छोरी र ज्वाईर्ंलाई त्यहाँ बोलाएका थिए । सस्तोमा अर्पाटमेन्ट पाइने थाहा पाएपछि उनीहरु साततले भवनको चौथो तलामा बस्न थालेका थिए । तर शनिवार बिहान सात तले भवन भत्किंदा उनीहरु सवैको ज्यान गएको उनको छ ।

‘मुजाहिदको परिवार यहीँ नजिकै बस्छ भन्ने थाहा थियो, तर यही भवनमा बस्छ भन्ने थाहा थिएन’ मुजाहिदका साथी खुर्सिद आलम खानले भने-’निरन्तर फोन सम्र्पक हुन नसकेपछि शंका लागेर भवनमा खोजतलास गर्दा उनीहरु मृत भेटिए ।’ उनै खुर्सिदले मुजाहिदको दुःखद खवर नेपालस्थित घर परिवारलाई सुनाइदिएका छन ।

मुजाहिदले आफ्ना एकमात्र छोरालाई बृद्ध हजुरबुबा हजुरआमासँग नेपालमै छाडेका थिए । अब मुजाहिदको परिवारमा सानो छोरा र बृद्ध बाबुआमा मात्र छन ।

गैरकानुनीरुपले बनाइएको सो साततले भवन भत्किंदा ५ नेपालीसहित ७२ जनाको ज्यान गएको छ । भवन भत्किएपछि महाराष्ट्र प्रहरीले यसरी गैरकानुनीरुपले बनाइएका संयन्त्रमाथि निगरानी बढाएको छ ।