क्यासिनोमा डिएसपिले मच्याए मध्येराती आतंक

कैलाली, १ फगुन । धनगढीस्थित द होटल डिभोटी परिसरमा रहेको क्यासिनोमा डिएसपीले मदिरा सेवन गरी आतंक मच्चाएका छन् । मदिराले मात्तिएका डिएसपी प्रेमबहादुर कार्कीसहित कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कर्ण कुँवरलगायतकाले जबर्जस्ती क्यासिनोमा पसेर आतंक मच्चाएका हुन् ।





शनिबार राति साढे बाह्र बजेतिर डिएसपी कार्की, कैलाली प्रहरी प्रवक्ता इन्स्पेक्टर सुदाम रावल, संघका अध्यक्ष कुँवरलगायतकाले क्यासिनोमा रहेकालाई कुटपिट र अश्लील शब्द प्रयोग गरी गालीगलौज गरेको क्यासिनो सञ्चालकले बताए ।

क्यासिनो करिब अढाई महिनाअघि हयापी आवर प्रालिअन्तर्गत द मिलिनियस क्लबले सञ्चालन गरेको छ । प्राइभेट गाडीमा सादा पोसाकमा आएका डिएसपीसहितको टोलीको कुटाइबाट एक बुल्गेरियन नागरिक घाइते भएको हयापी आवरका सञ्चालक सुरेन्द्रबहादुर सिंहले पत्रकारलाई बताए ।

डयुटीमा रहेका सुरक्षागार्डले नेपालीलाई प्रवेश नभएको भन्दै रोक्न खोजे पनि हतियार देखाएर उनीहरू जबर्जस्ती क्यासिनोमा छिरेका थिए । मदिराले मातिएका डिएसपी कार्कीले पेस्तोल पनि साथमै लगेका थिए । आफ्नो पेस्तोल भुइँमा खसेको पनि थाहा नपाएका कार्कीलाई डयुटीमा रहेका गार्डले पेस्तोल फेला पारेर बुझाएका थिए । डिएसपी र अध्यक्ष कुँवर नेतृत्वमा १२/१३ जनाको टोली जबर्जस्ती क्यासिनोमा छिरेका थिए । उनीहरूले भित्र छिरेर आतंकित बनाएपछि वडा प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले घटनालाई साम्य पारेको क्यासिनोका कर्मचारीले बताए ।

घटनापश्चात् आइतबार कैलालीका निमित्त प्रहरी प्रमुख एसपी रमेश रञ्जितकारले प्रत्यक्ष अवलोकन गरेका छन् । एसपी रञ्जितकारले सञ्चालकले हालसम्म कुनै लिखित निवेदन नदिएको बताउँदै घटनामा संलग्न भएका भनिएका प्रहरीलाई विभागीय कारबाही हुने बताए ।