एसएलसीको परिक्षा सक्नको लागि २८ करोड!

१० फागुन, काठमाण्डौं । आगामी चैत १ देखि ९ गतेसम्म सञ्चालन हुने ८० औं एसएलसी परीक्षामा ५३ हजार ४ सय ८८ जनशक्ति परिचालित हुने भएको छ । केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित उक्त संख्यामा जनशक्ति परिचालित हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।



परीक्षा नियन्त्रक खगराज बरालले देशभरिमा २ हजार ६ सय ५५ जना सहायक केन्द्राध्यक्ष, २१ हजार ८ सय ९० जना निरीक्षक, ७ हजार २ सय ९७ जना सहयोगी र १९ हजार ८ सय ६० जना सुरक्षाकर्मी परिचालन हुने बताउनुभयो ।



परीक्षामा ५ लाख ४७ हजार १ सय ६५ परीक्षार्थी सम्मिलित हुने परीक्षा नियन्त्रक बरालले जानकारी दिनुभएको नेपाल समाचार पत्रमा खबर छ । यो बर्ष एसएलसी परीक्षामा परीक्षा नियन्त्रण कार्यालयले ७० प्रतिशत हाजिरी नपुग्ने विद्यार्थीलाई अयोग्य ठहर्‍याउने बताउँदै नियन्त्रक बरालले यस्ता विद्यार्थी फेल परे यही फागुन २० गते सम्ममा जानकारी दिन देशभरका जिल्ला शिक्षा कार्यालयलाई जानकारी गराएको पनि बताउनुभयो ।

यो बर्षको एसएलसीको बजेट २८ करोड रहेको पनि उहाँले जानकारी दिनुभयो ।