मेरो सबै फर्मूला सकिए, यही नै निर्बिकल्प होः प्रचण्ड

२७ माघ, हेटौंडा । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफुले अघि सारेको नयाँ प्रस्तावलाई अन्तिम र निर्बिकल्प फर्मूला भन्दै यसले राष्ट्रिय सहमति बन्ने बिश्वास ब्यक्त गर्नुभएको छ ।


महाधिवेशनस्थल हेटौंडामा आज बिहान क्रान्तिकारी पत्रकार संघ मकवानपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउनु सवैभन्दा सुरक्षित बिकल्प भएको बताउनुभयो ।

‘मेरो प्रस्तावमा सहमति भइसकेको छैन, तर नेताहरुका कुरा सुन्दा त्यति नकरात्मक पनि देख्दिन’- प्रचण्डले भन्नुभयो-’ खुलामञ्चको भाषणमा शीर्ष नेताहरुले केही रिर्जभेसन राखेको देखेको छु, यसैमा सहमति हुन्छ भन्ने लाग्छ ।’

राष्ट्रपतिले आज साँझ चार दलका शीर्ष नेताहरुलाई परामर्शमा बोलाएको जानकारी दिंदै प्रचण्डले त्यहाँ आफ्नो प्रस्तावबारे छलफल हुने बताउनुभयो । ‘राजनीति संकटमा परेपछि न्यायालयलाई गुहार्ने बिश्वब्यापी प्रचलन हो, यसो गर्दा राजनीतिक दलको पकड कम हुँदैन’ प्रचण्डले भन्नुभयो-’ प्रधान न्यायाधीशमा अबिश्वास गर्नुपर्ने कारण छैन भनेर अघि सारिएको हो, यसो गर्दा न्यायालय संकटमा पर्ने भन्ने कुरै आउंदैन् ।’

यसमा सहमति नभए नयाँ फर्मूला के छ ? भन्ने संचारकर्मीको प्रश्नमा प्रचण्डले भन्नुभयो- यसमा पनि सहमति भएन भने अन्तिम बिकल्प भनेको सडकबाटै छिनोफानो गर्ने हो, त्यो अपि्रय बिकल्पतिर जानु हुँदैन ।’ आफुलाई फर्मूला फर्मूलाको नेता भनि टिप्पणी गरिएको भन्दै उहाँले अब फर्मूला सकिएको बताउनुभयो ।

बिपक्षीहरुले गरेको बिरोध सभालाई ‘निर्वाचनको तयारी’को संज्ञा दिंदै उहाँले सरकार ढाल्न बिपक्षीले आन्दोलन गर्नु नपर्ने बरु आफैले बाटो खुला गरिदिएको बताउनुभयो ।

पार्टीले अघि सारको उत्पादनको कार्यनीतिलाई राजनीति छाडेको रुपमा नबुझ्न उहाँले आग्रह गर्नुभयो । ‘उत्पादन बृद्धि नगरि समाजबादी क्रान्तिको आधार तयार हुँदैन त्यसैले हामीले उत्पादन बृद्धिमा केन्द्रीत हुने भनेको हो, राजनीति छाडेर उत्पादनमा लाग्ने भनेको हैन ।’ प्रचण्डले भन्नुभयो ।

एमाले नेता घनश्याम भुसालको डकुमेन्टलाई प्रतिबेदनका रुपमा पेश गरेको भन्ने आरोपबारे प्रचण्डले भन्नुभयो- कसले कहाँ के बोल्यो भन्ने कुराको अर्थ हुन्न, राम्रो गर्नुपर्छ भन्ने कुरा त घनश्याममात्रै किन घनश्याम बाजेले पनि भनेका थिए होलान नी !’