म अली म्युजिकल मान्छे हुँ : माधव नेपाल

नेतालाई भेट्नासाथ पत्रकारले राजनीतिक कुरो सोध्छन् । नेताको व्यक्तिगत रुची भन्दा पनि राजनीतिको रुखो कुरोमात्रै नेताका मुखबाट सुनिन्छ । तर, केही समय पहिले नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग अन्तरवार्ता लिन जाँदा अनलाइनखबरले उहाँलाई चलचित्र र गीत-संगीतका विषयमा प्रश्न गरेको थियो ।


रसिला स्वभावका नेपालले मनको कुरा खुलस्त पार्दै भन्नुभयो- ‘म अलि म्युजिकल छु । गीत सुन्ने धून सवार भैसकेपछि हिँड्दाखेरि, बस्दाखेरि पनि सुनिरहन्छु । एकचोटि मलाई दुई-तीन महिनासम्म यस्तो धून सवार भएको थियो ।’ नेपालको भनाइ उहाँकै शब्दमा : अब मेरीबास्सै र जिरेखुर्सानी हेर्नुपर्ला चलचित्र अचेल हेरिएको छैन ।

चलचित्र हेर्न समय नै हुँदैन । अस्ति मेरो घरपरिवारमै चर्चा चल्यो, सोमबार र विहीबार हास्य टेलीश्रृंखला आउँछ, त्योचाहिँ हेर्नुपर्छ है । एउटा मेरी बास्सै हो क्यार, अर्को जिरे खुर्सानी । ठ्याक्क जिरे खुर्सानी लागिराखेको थियो, त्यहीबेला तपाई हेर्दै हेर्नुहुन्न भन्ने चर्चा चल्यो । के गर्नु, आफूलाई मिटिङ-सिटङले गर्दा राति ९ बजेपछिमात्रै फुर्सद हुन्छ । तर, मैले दिमागमा के बनाएको छु भने नेपाली सिरियल राम्रो छ भने यी दुईवटालाई चाँहि मिस नगरौं कि ।

फिल्म हेर्न पारि गइन्थ्यो उहिले त चलचित्र प्रशस्तै हेरिन्थ्यो । एक समयमा मैले पर्याप्त सिनेमा हेरें । एसएलसी जाँच दिनेबेलाको कुरा गर्ने हो भने हामी इण्डियन फिल्महरु धेरै हेथ्यौर्ं । मेरो घर सीमानामा पर्ने भएकाले नेपालमा थिएन, पारिपट्टी जान्थ्यौं । कहिले गौरबाट बैरगनियाँ, कहिले सीतामडी गएर हेथ्र्यौं । कहिले नयाँ फिल्म रिलिज भएको रहेछ भने मुजफ्फपुरसम्म पनि पुग्थ्यौं । त्योबेलाका पुराना पुराना फिल्म र हिरोहरु मलाई थाहा छ । इन्टर पढ्न थालेपछि चलचित्र हेर्न कम भयो । ग्राजुएसन गर्नेबेलामा त मैले एउटा पनि हेरिँन होला । बिराटनगरमा पढुञ्जेल कुनै पनि फिल्म हेरिएन । पछि हाम्रा निर्देशकहरुले आग्रह गरेका अवस्थामा एक/दुईवटा हेरियो होला । फिल्मको पि्रमियर शोमा बोलाउन त बोलाउँछन् तर आफूलाई फुर्सद पनि त हुनुपर्यो नि । ‘फ्यान’हरु

हिरोको कुरो गर्दा मैले भुवन केसीलाई चिन्ने भैहालें । मेरै हातबाट टीका लगाएर उहाँलाई एमालेमा प्रवेश गराएको हो । राजेश हमालजीलाई पनि नचिन्ने कुरै भएन । रेखा थापा त झन् चर्चितै नाम भैहाल्यो । गायिकाको हिसाबले अञ्जू पन्तसँग पनि एक-दुईपटक भेटघाट भएको छ । उहाँलाई मैले सम्मानित पनि गरेको छु । शम्भुजीत बास्कोटा राम्रो गायक हुनुहुन्छ, उहाँसँग मेरो राम्रै छ । टीका भण्डारी भाइ मैले उहिल्यैदेखि चिनेको हो । लोचन भट्टराई पहिलेदेखि नै जानिराखेका मान्छे हुन् । कुन्ती मोक्तानको पनि गीत मलाई राम्रो लाग्छ । अरुणा लामाको गीत पनि मनपर्छ । नारायणगोपाल त झन् मलाई मन पर्नेमध्येकै परे । रामकृष्ण ढकालको गीत पनि मलाई धेरै मनपर्छ । मलाई आनी छोइङका गीतहरु पनि मलाई मन पर्छन् । ‘फूलको आँखामा फुलै संसार’ भन्ने गीत मैले साह्रै मन पराएर सुनेको सुन्यै गरेको छु । जति सुने पनि नअघाइने । मनपर्ने गीत

गीतको कुरा गर्ने हो भने म अलि म्युजिकल छु । जुन चिजमा लाग्यो, त्यसैमा लागिरहन्छु । गीत सुन्ने धून सवार भैसकेपछि हिँड्दाखेरि, बस्दाखेरि पनि सुनिरहन्छु । एकचोटि मलाई दुई-तीन महिनासम्म यस्तो धून सवार भएको थियो । म देशभक्तिपूर्ण गीतहरुलाई पहिलो प्राथमिकता दिन्छु । मैले अस्ति केही मानिसहरुलाई भने, देशभक्तिपूर्ण नयाँनयाँ गीतहरु बनाउनोस् । उहिले-उहिलेका देशभक्तिपूर्ण गीतहरुले मान्छेलाई अहिले पनि उत्प्रेरित गरिरहेका छन् । तपाई अमेरिका जानोस् या जहाँ जानोस्, देशभक्तिपूर्ण गीतले मान्छेलाई जुरुक्-जुरुक् पार्दछ । अहिले देशभक्तिको भावना धेरै घटेको छ, त्यसैले तपाईहरुले पनि यस्ता गीतहरु तयार गर्नोस् । अहिले देश प्रेमको भावना घटेर गएको छ । त्यसैले देशभक्तिपूर्ण गीतहरुको आवश्यकता बढेर गएको छ । मलाई प्रकृतिको बखान गरेका गीतहरु मन पर्छ । देशकै बखान गर्नोस्, यो देशभक्तिको अर्को रुप हो । यहाँको प्रकृति, खोलानाला, जनता, समाजको सद्भाव, इतिहास, सम्भावना र भविश्य सबै कुराहरु उल्लेख गर्नोस् । गीत प्रकृतिसँगको चित्रण गरिएको हुनुपर्छ ।