सहरी महिला स्तनपान गराउँदैनन्

सहरी क्षेत्रका महिला सुन्दरता र स्तनको आकार बिग्रने लोभमा जन्माएको सन्तानलाई समेत स्तनपान गराउँदैनन्। हरेक पाँच

वर्षमा गरिने स्वास्थ्य सम्बन्धी 'नेपाल डेमोग्राफिक हेल्थ सर्भे' अनुसार शिशुलाई स्तनपान गराउनुपर्छ भनेर जानेका शिक्षित महिलाले समेत आफ्ना शिशुलाई स्तनपान गराउँदैनन्। गत मार्चमा सम्पन्न सर्वेक्षण अनुसार सहरका ५१ प्रतिशत र गाउँका ४१ प्रतिशत शिशुले जन्मेको एक घन्टामा आमाको दूध खान पाउँदैनन्। स्तनपान नगराउने गरिब ४० प्रतिशतभन्दा थोरै भए पनि धनाढ्य र मध्यमवर्ग ५० प्रतिशतभन्दा बढी छन्। सरकारले एक सातापछि स्तनपान सप्ताह मनाउँदैछ। शिशु स्वास्थ्यमा कार्यरत सेभ द चिल्ड्रनले सर्भेको नतिजा खुलाएको हो। सेभ द चिल्ड्रनका सञ्चार तथा सूचना अधिकृत श्रद्धा शाहका अनुसार गाउँमा नजानेर र कामको बोझले शिशुले आमाको दूध खान नपाए पनि सहरका महिलाले जानेरै अटेर गर्ने गरेका छन्। आमाको विगौती दूध र ६ महिना शिशुलाई स्तनपान नै पर्याप्त हुने ज्ञान फैलिए पनि लागु भएको छैन। ६ महिना नपुग्दै शिशुलाई थप आहार खुवाउने ७० प्रतिशतको जमात छ।खासगरी शिशु जन्मेको एक घन्टामै उसले आमाको दूध खान पाउनुपर्छ तर मुलुकमा अहिलेसम्म ४५ प्रतिशत शिशुले मात्र यो सौभाग्य पाएका छन्। सन् २००६ को सर्भेमा यो संख्या अझै ३५ प्रतिशत मात्र थियो। यसका लागि व्यस्त सहरी जीवन एक कारण मानिए पनि आफ्ना अधिकार थोरै भए भन्ने महिलाले जानेरै अबोध शिशुका अधिकार कुण्ठित गरिरहेको भेटिएको छ। सन् २००६ सम्म जन्मेका ४९ प्रतिशत शिशुमा पुड्कोपन थियो २०११ मा पुग्दा ४१ मा झरेको छ। यस्तै, १३ प्रतिशतमा रहेको दुब्लोपन ११ प्रतिशतमा झरे पनि सरकारको सन् २०१५ को सहस्राब्दी विकास लक्ष्य पछ्याउन पुड्कोपन २७ र दुब्लोपन ५ प्रतिशतमा झार्ने योजना पूरा हुने छाँट देखिएको छैन।
सरकारसँग सन् २०१० अघि शिशु स्वास्थ्यसँग जोडिएका महत्त्वपूर्ण कार्यक्रम नभएकाले नै यस्तो अवस्था आएको सेभ द चिल्ड्रनका स्वास्थ्य तथा पोषण अधिकृत राजकुमार महतो बताउँछन्। बितेका पाँच वर्षमा शिशु मृत्युदर पनि घटेको छैन। मुलुकमा जन्मने प्रति हजारमध्ये ३३ प्रतिशत शिशुको मृत्युदर ज्युँका त्युँ नै छ। तर सरकारले सन् २०१० पछि सुरु गरेको समुदायमा आधारित नवजात शिशु स्याहार कार्यक्रमका कारण अबको चार वर्षपछिको तथ्यांक फरक पर्ने विश्वास गरिएको छ।