नुवाकोटमा गोरुभन्दा पहिले नेता जुधे अध्यक्षमा हानथापपछि गोरु समेत बाँडिए

१ माघ, काठमाण्डौं । नुवाकोटको तारुकामा यसवर्ष माघे संक्रान्तिमा गोरु जुध्नुअघि नै नेताहरु जुधेका छन् ।

सहमतीय सरकार गठनबारे केन्द्रमा नेताहरु हानथाप गरेजस्तै गोरु जुधाउने प्रतियोगिताको आयोजक समितिमा अध्यक्ष बन्ने होडमा स्थानीय नेताहरुबीच घम्साघम्सी भएको हो । गोरुले जस्तै टाउको जुधाएर भीडन्त भएको त होइन । तर गोरु जुध्ने शैलीमा जुधेर नेताहरुले गोरुमा समेत राजनीति गरे भनेर गाउँलेहरुले आलोचना गरेका छन् । नेताहरुबीच ठाउँको कुरा नमिलेर विवाद भएपछि गोरु जुधाईमा नै भागबण्डा भएको छ । हरेक वर्षको माघे संक्रान्तिमा जस्तै यसवर्ष पनि गोरु जुधाई प्रतियोगिताको लागि पहिलेदेखि नै तयारी शुरु भएको हो । सोमबार देशका अरु ठाउँबाट समेत गोरु जुधेको हेर्न मान्छे पुग्ने भएकाले तयारी त्यसै अनुसार गर्ने योजना थियो । स्थानीयस्तरमा हुने गोरु जुधाईमा स्थानीय राजनीतिक दलको पनि चासो र हस्तक्षेप हुने नै भयो । त्यसअनुसार एकीकृत माओवादी, कांग्रेस, एमाले लगायतका गाउँमा उपस्थिति रहेका सबै राजनीतिक दलले कार्यक्रममा चासो देखाए । फलस्वरुप आयोजक समितिको अध्यक्ष बन्न तीनवटै दलका नेताहरुले दावी गरे । कुनै एकजनालाई अध्यक्ष बनाउने विषयमा सहमति जुट्न सकेन । एकीकृत माओवादी र नेपाली कांग्रेस एकातिर तथा एमाले अर्कोतिर बाँडिए । पोहोरपरार गोरु जुधाउने ठाउँमा भन्दा अर्कै चन्दनी भन्ने ठाउँमा एकीकृत माओवादी र कांग्रेसको आयोजनामा तथा ठूलोपोखरीमा एमालेको आयोजनामा गोरु जुधाउने कार्यक्रम हुन लागेको छ । गोरु जुधेको हेर्न जान लागेकाहरु लौ गोरुभन्दा पहिले नै नेताहरु जुधे रे भनेर ठट्टा गर्दै दुवै ठाउँमा जम्मा भएका छन् ।
तीन ठाउँमा २५ हल गोरुको भीडन्त गोरु जुधाईमा चर्चित हुँदै आएको नुवाकोटको तारुका र बेत्रावतीमा यसवर्ष २५ हल गोरुको भीडन्त हुँदैछ । तारुकाको चन्दनीमा १२ हल, ठूलोपोखरीम ८ हल र बेत्रावतीमा ५ हल गोरु जुधाउन लागिएको हो । भीडन्तमा उत्कृष्ट ठहरिने गोरुलाई माघको दोस्रो हप्ता राजधानी ल्याएर प्रतिष्पर्धा गराउने कार्यक्रम छ । गोरु जुधाई कार्यक्रम हेर्न नुवाकोटका बिभिन्न गाउँसगै आसपासका ठाउँ र राजधानीबाट समेत अवलोकनकर्ता तारुका र बेत्रावती पुगेका छन् ।