आफ्नै छोरी बलात्कार गर्ने बाबुलाईलाई १८ वर्ष जेल सजाय

८ माघ, हेटौंडा । आफ्नै छोरीलाई बलात्कार गर्ने भैसेका शुक्रबहादुर नेगीलाई जिल्ला अदालत मकवानपुरले १८ वर्ष जेल सजायको फैसला सुनाएको छ । साथै छोरीलाई २ लाख क्षतिपूर्ति दिन आदेश दिएको छ ।

न्यायाधीश टेकनारायण कुँवरको इजलासले सोमबार नेगीले १३ वर्षीया छोरीलाई बलात्कार गरेको ठहर गरेको हो । इजलासले नाबालिकलाई बलात्कार गरेकोमा ८ वर्ष र हाडनातामा जबरजस्ती करणी गरेकोमा १० वर्ष गरी १८ वर्षको कैदको फैसला सुनाएको हो । नेगीले गत वर्ष माघमा घरमा कोही नभएको मौका छोपी खुर्पा देखाएर छोरीको बलात्कार गरेका थिए । पीडितले आमालाई भनेपछि स्थानीयले नेगीलाई पक्राउ गरी प्रहरीकोमा बुझाएको थियो ।