नेपाल प्रहरीले सुरु गर्‍यो फेसबुक पेज

काठमाडौं, असोज ३० – नेपाल प्रहरीले लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा पेज सुरु गरेको छ । ५७ औँ प्रहरी दिवसको अवसरमा नेपाल प्रहरीले फेसबुकमा पेज सुरु गरेको नेपाल प्रहरीले जनाएको छ ।
सूचना प्रविधिको युगमा नेपाल प्रहरीका गतिविधि, आपराधिक घटनाका खबर, फोटो, भिडियो, प्रहरीसँग सम्बन्धित अन्य सूचनाको जानकारी फेसबुकमार्फत सर्वसाधारणमा पुर्‍याउने उद्देश्यले https://www.facebook.com/NepalPolicePHQ पेज संचालन गरिएको प्रहरीले विज्ञप्तीमार्फत जनाएको छ ।
‘यो पेजमार्फत सर्वसाधारण फेसबुक प्रयोगकर्ताले समेत कुनै पनि सूचना प्रहरीलाई दिन सक्नेछन्’, विज्ञप्तीमा भनिएको छ । पेजमार्फत प्राप्त सूचनाहरु नियमित रुपमा अनुगमन गरी आवश्यक कारबाही तथा कार्यान्वयनका लागि सम्बन्धित प्रहरी इकाईमा जानकारी दिने व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।