१५ हजार तिर्न नसक्दा एमालेका शीर्ष तीन नेताको वेबसाइट नै बन्द
४ कात्तिक, काठमाण्डौं । बर्षमा १५ हजार रुपैयाँ नतिर्दा एमालेका तीन शीर्ष नेताको इन्टरनेट परिचय गुमेको छ । अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधबकुमार नेपाल र केपी शर्मा ओलीको आधिकारिक वेबसाइट होस्टिङ रकम नतिरेकाले बन्द भएका छन् ।
‘होस्टिङका लागि आवश्यक रकम नतिरेकाले वेबसाइट बन्द भएको हो,’ पूर्व प्रधानमन्त्री नेपालको वेब होस्टिङ गर्दै आएको कम्पनी चौतारी मिडिया स्रोतले भन्यो, ‘कम्पनीले नै पैसा तिरिदिएकाले अहिलेसम्म डोमेन सुरक्षित छ ।’ डोमेनका लागि वाषिर्क १ हजार ५ सय खर्च लाग्ने तथा होस्टिङसहित अन्य प्रविधि खर्च ८ देखि १५ हजारसम्म हुने वेब होस्टिङको काम गर्दै आएका प्रवेश सुवेदी र धर्म भुसालले जानकारी दिएको खबर नागरिक दैनिकले छापेको छ ।
खनालको डोमेन र होस्टिङ काठमाण्डौं शंखमूलमा अनुप सुवेदी र ओलीको एक अमेरिकी कम्पनीका नाममा छ ।
खनाल र नेपालको आधिकारिक वेबसाइट www.jnkhanal.com, www.madhavnepal.com टाइप गर्दा सर्भर नट फाउण्ड सन्देश आउँछ भने केपी शर्मा ओलीको www.kpoli.com टाइप गर्दा एकाउन्ट सस्पेन्डेट भन्ने सूचना आँउछ ।

