कोरियामा भएको कार दुर्घटनामा नेपालीको मृत्यु

सोल, असार १९ – दक्षणि कोरियामा भएको कार दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ । ईपीएस मार्फत रोजगारी गर्न ४ वर्ष १० महिनाअघि यहाँ आएका दाङ तुल्सीपुरका शैलेन्द्र थापाको बुधबार राति थेगुको ईल्याङ भन्ने ठाउँमा कार दुर्घटनामा परी मृत्यु भएको हो ।



थेगु भिजन चर्चका पास्टर अमृत थापा मगरका अनुसार मृतक थापा मंगलबार बेलुका काम सकेर नवराज न्यौपाने र विनोद बिकसहित कारमा घुम्न बाहिर निस्केका थिए । विनोद बिकको नाममा रहेको सो कार चितवनका नवराज न्यौपानेले चलाएका थिए । नजिकैको बजारमा मादक पदार्थ सेवन गरेर र्फकने क्रममा राति १२.३० बजेतिर न्यौपानेले इल्याङ भन्ने ठाउँमा उभिइरहेको ट्रकमा कार ठोक्काएका थिए । ©इकान्तिपुरबाट साभार गरिएको।

बिक र न्यौपाने सुरक्षित रहे पनि फ्रन्ट सीटमा रहेका थापाको तत्काल उपचार हुन नसकेपछि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हालसम्म अविवाहित मृतक थापा मत्स्यपालन भिसामा कोरिया आएर बिगत ४ वर्षदेखि मोबाइलको पार्टपूर्जा बनाउने देह्वा नामक कम्पनीमा अवैधानिकरुपले काम गर्दै आएका थिए । त्यहाँ २१ नेपाली कार्यरत छन् । थेगु ट्राफिक कार्यलयले सवारी साधन र चालक न्यौपानेलाई नियन्त्रणमा लिएको छ । न्यौपानेलाई हुने कारबाहीबारे हालसम्म निर्णय भइ नसकेको पनि पास्टर थापाले बताए । शव हाल स्थानीय अस्पतालमा राखिएको छ ।