‘छोरीहरुका लागि बाँचेकी छु’

पम्फा भट्टराई

अधिकांश अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले मंगलबार जापानमा हत्या गरिएका विष्णुप्रसाद धमलाको समाचार प्रमुखताका साथ प्रकाशित-प्रसारित गरे । विष्णुप्रसादलाई कुटपिट गर्ने एक युवक र एक युवतीलाई जेल सजाय तोकिएको थियो । आफ्नो पतिको हत्यामा संलग्न अपराधीलाई तोकिएको सजायप्रति विष्णुप्रसादकी श्रीमती पुष्पा भट्टराई भने त्यति खुसी छैनन् । एक निजी स्कुलमा अध्यापन गरिरहेकी पुष्पाको चिन्ता दुई छोरी हुर्काउने र पढाउनेमा छ । उनी नयाँ पत्रिकासँग यसरी खुलिन् :

०६८ पुस मसान्तको साँझ जापानबाट उहाँले फोन गर्नुभयो । र, भन्नुभयो, ‘हामी त माघेसंक्रान्ति मनाउन लागेको । तिमीहरू पनि राम्रोसँग मनाउनु ।’ चाडबाड भनेपछि हुरुक्कै हुने उहाँको बानी थियो । रमाइलो गर्न, खानपिन गर्न उहाँ असाध्यै सोख राख्नुहुन्थ्यो । थरीथरीका अचार, सुकुटी खान उहाँलाई खुब मन पर्थ्यो । भोलिपल्ट बिहानै पाँच बजेतिर गाउँबाट जेठाजुले फोन गर्नुभयो । उहाँले सोध्नुभयो, ‘तिमीलाई सन्चै छ ? केही भएको त छैन ? जापानबाट फोन आयो ? म निद्रामै थिए । उहाँको यी सबै प्रश्नले मन ढक्क फुल्यो । एक किसिमको डर लागेर आयो । ‘छैन । यता त सब ठीक छ । के भयो र ?’ मैले भनेँ ।’केही होइन । बिहानै कान्छोलाई कसले फोन गर्‍यो कुन्नि, ऊ त निस्केर हिँड्यो !’ उहाँले भन्नुभयो ।

पछाडिबाट ससुरा ‘केही नभन, उसलाई थाहा छैन होला’ भनिरहनुभएको थियो । त्यतिवेलै मेरो मनमा डर पलायो । फोन राखेपछि मलाई देवरबाबुले फोन गरेर ‘दाइको एक्सिडेन्ट भएछ, म आउँदै छु’ भन्नुभयो । अब भने केही भयो भन्नेमा शंकै रहेन । मैले आफ्नो मिल्ने साथीलाई फोन गरँे । उसलाई सबै कुरा सुनाएँ । ऊ पहिला केही पनि बोलिन, पछि ‘म आउँछु’ भनी ।त्यसपछि त घरमा मान्छे आउने क्रम रोकिएन । म भने आधा बेहोस जस्तै थिएँ । राति खबर आयो,उहाँ रहनुभएन ।त्यसवेला किन रहनुभएन भन्ने प्रश्न मनमा थिएन । मनमा यत्ति थियो, उहाँ अब रहनुभएन ।त्यो दिन राति त्यही रेस्टुरेन्टमै बस्नुभएछ । साथीहरूले हाम्रै रेस्टुरेन्टमा पार्टी गरेकाले चाँडो बन्द गर्न पनि मिलेनछ । बिहानको चार बजिसकेको रहेछ । बिहान घर गएर नुहाइधुवाइ गरी फेरि रेस्टुरेन्ट आउने भन्दै उहाँ र भान्जा निस्कनुभएको रहेछ । बाटोमा अचानक मेरा श्रीमान्लाई ती केटाकेटीले पिट्न थालेछन् । तर, उहाँलाई सघाउने कोही थिएन । भान्जा भन्नुहुन्छ, ‘मैले कोसिस गरेको, मलाई नै पिटे ।’ भान्जाले बोकेर हस्पिटल लैजाँदै गर्दा उहाँको मृत्यु भइसकेको रहेछ ।

उहाँको ढाडमा समस्या थियो । निहुरिन सक्नुहुँदैनथ्यो । उनीहरूले त्यसरी कुट्दा प्रतिकार गर्न पनि सक्नुभएन होला । त्यो घटना कल्पना गर्दा मात्र पनि मेरा आँखा रसाउँछन् । फेरि, मैले त्यसवेला सबै कुरा सुन्न पनि सकिनँ । पछि सोधेको पनि छैन । हिम्मत नै छैन ।घटना भएको सात दिनमा उहाँको लास आयो । लास ल्याउन उहाँकी एक जापानिज साथीले सघाएकी थिइन् । उनले त्यसवेला हामीलाई ठूलो गुन लगाइन् ।म पहिला पनि एक्लै थिएँ । तर, साँझपख इन्टरनेटमा उहाँलाई कुर्ने बानी परेको थियो । उहाँ र म अनलाइनमा कुरा गथ्र्यौं । उहाँ त्यति खुल्नुहुन्नथ्यो । तर, मलाई मलाई थाहा छ, उहाँ मलाई खुब माया गर्नुहुन्थ्यो ।आजकल पनि जब इन्टरनेटमा बस्छु, यस्तो लाग्छ, उहाँ याहु म्यासेन्जरमा फुतुक्क निस्कनुहुन्छ र बोलाउनुहुन्छ ‘पम्फा के हुँदै छ ?’ तर, यस्तो नभएको पनि एक वर्ष बितिसक्यो । मन अझै उहाँ आउनुहुन्छ जस्तो गर्छ ।अस्ति देवरले भन्नुभयो, ‘अदालतले फैसला गरेछ ।’ तर, मेरो मनमा कुनै प्रतिक्रिया आएन । अहिले पनि मलाई त्यो फैसलाप्रति कुनै भाव छैन । तर, अलि बढी सजाय भइदिए हुनेजस्तो लाग्छ । त्यो सबैको चाँजोपाँजो त्यही जापानिज साथीले गरिरहेकी छिन् । तर, उहाँले त्यो रेस्टुरेन्टमा लगानी भने कानुनी प्रक्रिया पुर्‍याएर गर्नुभएको रहेनछ । त्यो रेस्टुरेन्ट त्यही जापानिजसाथीको नाममा छ । उनले मेरा छोरीहरूको मुख हेरेर केही राहत दिए मात्रै हो, नत्र सबैजना ‘हामीले तिनीबाट आश गर्ने ठाउँ छैन’ भन्छन् ।

श्रीमान् भन्नुहुन्थ्यो, ‘रेस्टुरेन्टमा साठी/सत्तरी लाख लगानी गरेको छु । त्यसैले म पनि ढुक्क थिएँ । छोरीहरूलाई राम्रो भविष्य दिन सकिन्छ भन्ने थियो । छोरीहरूका लागि भनेर छुट्टै बैंक खाता खोलेका छैनौँ ।उहाँ परिवारलाई असाध्यै माया गर्ने मान्छे । श्रीमती, छोरी भनेर मात्रै छुट्टै गर्नुभएन । मलाई पनि उहाँको यो स्वभाव राम्रो लाग्थ्यो । मेरा लागि दिनुहोस् पनि कहिल्यै भनिनँ । भर्खर राम्रो हुँदै थियो । यस्तो पहाड खस्ला भन्ने नै लागेको थिएन ।हाम्रो २०५७ सालमा बिहे भएको हो । जापानमा रेस्टुरेन्ट खोलेको पनि एक वर्ष मात्र पुगेको थियो । त्यसअघि उहाँ जापानमै फ्याक्ट्रीमा काम गर्नुहुन्थ्यो । विवाह भएको १२ वर्षमा उहाँ म र दुई छोरीलाई छाडेर सदाका लागि जानुभयो । कोही व्यक्तिको नशाको शिकार मेरो संसार भयो । यस्तो वेला उनीहरू जेल जानु, सजाय पाउनु, त्यसले मलाई कुनै प्रतिक्रिया आउँदैन ।

मेरा दुई सन्तान छन्, जसको आश ममा छ । सासूससुरा बूढाबूढी हुनुहन्छ । म नै रोगी छु । ३१ वर्षको उमेरदेखि उच्च रक्तचापको औषधि लिइरहेको छु । मुटुमा पनि समस्या छ । श्रीमान्को मृत्युपछि डिप्रेसन पनि भयो । त्यसको औषधि पनि खाएँ । मेरो जागिरबाट छोरीहरूको खर्च जेनतेन पुर्‍याएकी छु ।तर, डर लाग्छ, म उनीहरूलाई राम्रो शिक्षा दिन सक्छु कि सक्दिनँ ? मेरा श्रीमान्ले दिने आड-भरोसाको क्षतिपूर्ति केही हुन सक्छ ? कुनै जेलको कोठीले मेरो छोरीहरूलाई बाउ दिन सक्छ ? यी सबै प्रश्नको उत्तर खोज्छु, तर पाउँदिनँ । यो सबै हुँदा पनि मेरो ठूलो चुनौती, जसरी हुन्छ, बाँच्नु छ, छोरीहरूका लागि । नयाँ पत्रिकावाट साभार