हनुमानढोकामा दलाल निषेध, राष्ट्रिय अनुसन्धानका असई नै दलाल

काठमाडौं, १३ असार । भनसुनमा छुटाउने भन्दै सर्वसाधारणबाट पैसा उठाउने गरेको देखिएपछि काठमाडौं प्रहरीले त्यस्ता दलाललाई हनुमानढोका प्रवेश निषेध गरेको छ । पक्राउ परेका व्यक्तिलाई छुटाइदिने भन्दै दलालले पैसा ठगी गर्ने गरेको थाहा पाएपछि काठमाडौं प्रहरी र अपराध महाशाखा दुवैले निषेध गरेका हुन् । उनीहरूले आफ्नो कार्यालय प्रवेश गर्ने ढोका, भित्ता र सूचनापाटीमा सेवाग्राहीले देख्ने गरी त्यस्तो सूचना टाँसेका हुन् । काठमाडौं परिसरले आफ्नो ढोकामा ‘न्याय पाउन कुनै मूल्य तिर्नु पर्दैन, सोझै सम्पर्क गर्नुहोस्, निष्पक्ष सेवा लिनुहोस्’ टाँसेको छ ।



उसले थुनुवा, उजुरी, जाहेरवाला र प्रहरी कर्मचारीसँग मोलमोलाइ वा अन्य तरिकाले दुष्प्रभाव पार्नेलाई परिसर क्षेत्रभित्र पूर्णरूपमा निषेध गरेको जनाएको छ । त्यसरी दलाली गर्नेलाई पक्राउ गर्नेसमेत जनाएको छ । सर्वसाधारण ठगिने गरेको गुनासो आएपछि दलालहरूलाई निरुत्साहित पार्न खोजेको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुबोध घिमिरेले बताए । उनले उजुरी वा जाहेरी दिन कुनै भनसुनको आवश्यकता नपर्ने भएकाले सोझै सम्पर्क गर्न सर्वसाधारणलाई सुझाएका छन् ।

यसैबीच पक्राउ परेका व्यक्तिलाई छुटाइदिने भन्दै पैसा खाने राष्ट्रिय अनुसन्धानका असईसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । सरकारी कागजात किर्ते मुद्दामा पक्राउ परेका पाकिस्तानी दम्पतीलाई छाडिदिने भन्दै रकम असुल्ने राष्ट्रिय अनुसन्धान विभागका असई योगेन्द्र मण्डल र उनका साथी खगेन्द्र प्याकुरेललाई पक्राउ गरेको हो ।

उनीहरूले गत जेठ २८ गते कतार एयरको उडानद्वारा काठमाडौंबाट कतार जान लागेका पाकिस्तानी नागरिक अमन तुल्लाह खान, जुलेखा मियाँलाई मुद्दा मिलाइदिने भन्दै उनीहरूबाट ५० हजार रुपैयाँ लिएको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पाकिस्तान जान लागेका उनीहरूकी छोरी सलिना मियाँको नेपाली राहदानी र जन्मदर्ताको प्रमाणपत्रमा जन्ममिति फरक भएपछि अध्यागमनले अनुसन्धानका लागि अपराध महाशाखामा पठाएको थियो । उनीहरूलाई फरक जन्ममिति भएको किर्ते कागजपत्र वासु कोइराला नामका व्यक्तिले बनाइदिएको र उनको खोजी भइरहेको जनाएको छ ।

अपराध महाशाखाले अनुसन्धान गरिरहेका बेला विमानस्थलमा काम गर्ने राष्ट्रिय अनुसन्धानका असई मण्डलले थाहा पाएर खगेन्द्रलाई दलालीका लागि पठाएका थिए । ‘मण्डलले विमानस्थलबाट नै पाकिस्तानीको पिछा गर्न लगाएर मुद्दा मिलाउने भन्दै ५० हजार लगिसकेका रहेछन्,’ महाशाखाका एक अधिकारीले भने, ‘कुरा मिलिसक्यो, पासपोर्ट आज दिन्छ भन्दै थप पैसा मागेको थाहा पाएपछि नियन्त्रणमा लिइएको हो ।’ प्याकुरेललाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले राष्ट्रिय अनुसन्धानका असई मण्डलको नाम लिएका थिए ।

मण्डलले एयरपोर्टमा ट्राभल एजेन्सी चलाएर बस्ने हरि भट्टराई नामका व्यक्तिसमेत संलग्न रहेको बयान दिएका छन् । पाकिस्तानीले खगेन्द्र प्याकुरेललाई ३५ हजार र योगेन्द्र मण्डललाई ४ हजार रुपैयाँ दिएका थिए । उनीहरूले जेलबाट छुटेपछि थप दुई लाख रुपैयाँ मागिरहेको प्रहरीले जनाएको छ ।

अपराध महाशाखा प्रमुख एसएसपी विजयलाल कायस्थले प्रहरीसूग सम्बन्धित समस्या भए सोझै आउन सर्वसाधारणलाई आग्रह गरेका छन् । उनले सेवा प्रदानका लागि प्रहरीले कुनै पैसा नलिने भएकाले पैसा दिँदा काम गराउँछु भन्नेमाथि बिश्वास नगर्न भनेका छन् । - कान्तिपुर दैनिक