पानी नहुँदा वीरमा शल्यक्रिया रोकियो

१६ असार, काठमाण्डौं । मुलुककै सबैभन्दा ठूलो अस्पताल वीरमा पानी नभएका कारण शुक्रबार दिउँसो शल्यक्रिया रोकिएको छ । शल्यक्रियाका लागि भर्ना भएका केही बिरामीलाई ‘अर्को दिन आउनू’ भन्दै डिस्चार्ज गरिएको थियो भने अन्य बिरामी पनि शल्यक्रिया नगराई फर्किएका थिए ।



शनिबार पनि आकस्मिक कक्षका वार्ड, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका क्वार्टरमा पानीको हाहाकार थियो । कुनै कुनै शल्यक्रियाकक्षमा धमिलो पानीमात्र झरेको थियो । शल्यकक्षको धारामा दिउँसो पानी आएपछि आकस्मिक शल्यक्रिया नै रोकिने डरले कर्मचारीले बाटा, बाल्टिनजस्ता भाँडामा पानी थापेर राखेका छन् ।

अस्पतालले काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई छाडेर निजी कम्पनीसँग पानी लिन थालेपछि यस्तो समस्या आएको नागरिक दैनिकमा खबर छ । अस्पतालको पुरानो स्रोत डिपबोरिङमा पानी कम भएपछि कारण खोजी नै नगरी वीरले केही समय केयुकेएलबाट पानी ल्याएको थियो । पछि धौलागिरी नामक कम्पनीबाट पानी दिन थालेको थियो । कम्पनीले हडतालको कारण देखाउँदै पानी नल्याउँदा अस्पतालमा पानीको हाहाकार भएको हो ।