पिसाब नलीको पत्थरी निकाल्न गएकी एक महिलाको चिकित्सकको लापरबाहीले मृत्यु

१ जेठ , धरान । पिसाब नलीमा भएको पत्थरिको शल्यक्रिया गराएकी एक महिलाको चिकित्सकको लापरबाहीको कारण मृत्यु भएपछि धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओ पि डि सेवा ठप्प भएको छ ।

गत बैशाख २२ गते पिसाब नलिमा भएको पत्थरिको शल्यक्रिया गराएकी धरान ११ कि ३० वर्षिया मनमाया तामाङको मंगलबार बेलुकी मृत्यु भएको हो । शल्यक्रियाको क्रममा पिसाब बाहिर निस्कासन गर्नका लागि पिसाब नलि भन्दा केहि माथि पाईप जडान गरेपछि समस्या शुरू भएको उनका आफन्तको आरोप छ ।

मृतक तामाङको पिसाब बन्द भएपछि पुनः बैशाख २६ गते दोस्रो पटक शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पश्चात झन अवस्था विग्रिएपछि उनलाई थप उपचारका लागि भन्दै २८ गते सघन उपचार कक्ष(आई सि यु) मा भर्ना गरिएको थियो ।

प्रतिष्ठानका सर्जरी विभाग प्रमुख प्राध्यापक डा. सि एस अग्रवालको नेतृत्वमा तामाङको शल्यक्रिया गरिएको थियो । घटानापछि उनको आफन्तले डा. अग्रवालको कार्यकक्षमा तालाबन्दि गरेका थिए । घटनाबारे छानविन गर्न हिजो नै पा“च सदस्यीय छानविन समिति गठन गरेपछि लगाइएको ताला खोलिएको थियो ।

घटना पछि आफन्तले तोडफोड गर्ने डरले प्रतिष्ठान आफैले आजबाट प्रतिष्ठानको ओपिडि सेवा ठप्प पारी, सबै कार्यलयमा ताला बन्दि गरेर बसेका छन् । घटनाबारे निर्णय लिन अहिले प्रतिष्ठानका प्रमुखसहितका पदाधिकारीहरुको बैठक बसिरहेको बताइएको छ । मृतकको घरमा उनको श्रीमान, एक छोरा र एक छोरी छन् ।