सरकार चार दलको पुच्छर बन्नु आवश्यक छैन : नेपाल

२१ वैशाख, काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले धाँधलीरहित निर्वाचनको सुनिश्चितता बिना कात्तिकमा पनि निर्वाचन हुन नसक्ने बताउनुभएको छ । नेपालले स्वच्छ निर्वाचनका लागि सरकार र निर्वाचन आयोगले आवश्यक तयारी थाल्नुपर्ने बताउनुभयो ।madhav-nepal

नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घको चौधौँ साधारणसभाको काठमाण्डौमा शनिवार उद्घाटन गर्दै उहाँले भन्नुभयो, “निर्वाचनमा मतदान गर्न अनिवार्य मतदाता परिचयपत्रको व्यवस्था, विद्युतीय मतदान यन्त्र प्रयोगको व्यवस्था र भयमुक्त वातावरणमा स्वच्छ निर्वाचनको सुनिश्चितता अनिवार्य छ, त्यो कात्तिकसम्म सम्भव नभए निर्वाचन सार्न सकिन्छ ।”

उहाँले वर्तमान सरकारलाई चार दलको संयन्त्रको भरमा नचली आवश्यकताअनुसार स्वविवेक प्रयोग गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “यो सरकारले चार दलको लाचार छायाँ बन्न आवश्यक छैन, कुनै दलको नेताको पुच्छर बन्न आवश्यक छैन । मन्त्रिपरिषद्का अध्यक्षले कुनै दलका नेताले भने भन्दैमा खुरुखुरु मान्नुपर्दैन ।” उहाँले चुनावी प्रक्रियाको विरोधमा रहेका दलहरुका जायज मागहरुको सम्बोधन गरेर सरकारले उनीहरुलाई पनि निर्वाचनमा भाग लिने वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो । रासस