कोठामै बन्छ शैक्षिक प्रमाणपत्र र बैंकिङ डकुमेन्ट

१ जेठ, काठमाण्डौं । काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा एब्रोड स्टडीका बैंकिङ डकुमेन्ट र नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गिरोह सक्रिय रहेको पाइएको छ। उनीहरूले सरकारी कार्यालय, बैंक र विश्वविद्यालयका नक्कली छाप र लेटर प्याड बनाई नक्कली धन्दा सञ्चालन गरेको पाइएको हो। मिर्गौलाको अवैध बेचविखन कार्यमा सहयोग गरेको अभियोगमा पक्राउ परेका अभियुक्तहरूबारे अनुसन्धान गर्ने क्रममा यस्तो खुलासा भएको हो।



मिर्गौलाको अवैध बेचविखनबारे अनुसन्धान गर्ने क्रममा पक्राउ परेका तनहुँ मिलुङ–३ घर भई काठमाडौंको न्युरोड बस्दै आएका ३१ वर्षीय कुमार अधिकारीले सरकारी कार्यालय, बैंक र विश्वविद्यालयका नक्कली छाप र लेटर प्याड बनाई नक्कली धन्दा सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ। प्रहरीले यस कार्यमा ठूलै गिरोह सक्रिय रहेको र यसबारे थप अनुसन्धान भइरहेको बताएको छ । प्रहरीले अधिकारीको साथबाट नेपाल बैंक लिमिटेड, नबिल बैंक हिमालयन बैंक र नेपाल एसबीआई बैंकका नक्कली लेटर प्याड, बैंक स्टेटमेन्ट, एब्रोड स्टडीका बैंकिङ डकुमेन्टका साथ नक्कली शैक्षिक प्रमाणपत्र बरामद गरेको छ ।



यसैगरी, सरकारी छाप पनि बरामद गरेको छ । मिर्गौलाको अवैध बेचविखन कार्यमा सहयोग गरेको अभियोगमा प्रहरीले सञ्चालन गरेको खोजी अभियानमा आठजनालाई पक्राउ गरिएको थियो । प्रहरीले उनीहरूलाई काठमाडौ, नुवाकोट र काभ्रेका विभिन्न स्थानबाट पक्राउ गरी मंगलबार मात्र धुलिखेलमा सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा अधिकारीका अलावा नुवाकोट मदानपुर–१ का पुना ठकुरी भन्ने पूजा दाहाल, सोही स्थानकै कृष्णबहादुर दर्जी, ललितपुर उपमहानगरपालिका–२१ का सचिन महर्जन, ललितपुरकै सानुलाल महर्जन, काभ्रेको काभ्रे गाविस–४ का सुमन श्रेष्ठ र काभ्रेको पाँचखाल–६ का राजन दर्जी छन् । काभ्रे प्रहरी प्रमुख एसपी कमल घर्तीका अनुसार पक्राउ परेकामध्ये सचिन महर्जन पाटन क्याम्पसका पूर्वस्ववियु उपभापति रहेको राजधानी दैनिकमा खबर छ ।



प्रहरीले मिर्गौलाको अवैध कार्यमा सहयोगीका रूपमा काम गरेका काभ्रे पनौतीका मनोज रावत र होक्सेका प्रेमबहादुर बजगाईंलाई पक्राउ गरेको थियो । उनीहरूकै सूचनाका आधारमा प्रहरीले थप आठलाई पक्राउ गर्न सकेको हो । पक्राउ परेका रावत ३५ हजार रुपैयाँ धरौटीमा रिहा भइसकेका छन् भने बजगार्इं अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका छन्। एसपी घर्तीले पीडितहरूले दिएको जाहेरी दरखास्तको आधारमा अभियुक्तहरूलाई पक्राउ गर्न सकेको उल्लेख गर्दै यो प्रकरणका मुख्य दोषी भने अझ फरार रहेको बताए ।