(दिपक मनाङे, विश्वक्रान्ति सिंह र सञ्जिव लामा) सहित तीन 'गुन्डा' हनुमानढोका हिरासतमा
काठमाडौं, चैत २९ (नागरिक) - गुन्डागर्दी र अपराधमा कहलिएका तीन जना अहिले महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा सँगै छन्। राजिव गुरुङ (दिपक मनाङे), विश्वक्रान्ति सिंह र सञ्जिव लामा (स्याल ठगी) र सार्वजनिक अपराधको अभियोगमा पक्राउ परेका हुन्। मनाङे ठमेललाई आधार क्षेत्र बनाएर संगठित अपराधमा सक्रिय छन्। उनी जग्गा कारोबारका क्रममा दिएको चेक बाउन्स भएको आरोपमा प्रहरी हिरासतमा पुगेका हुन्।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgCMwFDH_AJvCiY6BfNWF5gHurKMDBmMQXpP0J7DoBpq73BV5J_OEj0ogZSVWuHyB53cgxUILx5Q3169uqGwv-P_cHi6d09Gg3Zls000w0y9QKNPvsyPApm_ERxyomNL5f7gBFUeml5z4WM/s400/gunda.jpg)
सिमराका वयोवृद्ध राजमान उपाध्यायको उजुरीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई नियन्त्रणमा लिएको थियो।
उनले राजमानलाई दिएको २० लाख ५० हजारको चेक खातामा पैसा नभएर फर्किएपछि राजमान प्रहरीको सहयोग लिन पुगेका थिए। मनाङेविरुद्ध अवैध सम्पत्ति आर्जन गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सकाएर प्रतिवेदन सम्पत्ति शुद्धीकरण विभागमा बुझाइसकेको छ।
ब्युरोले अनुसन्धानका क्रममा मनाङेको नाममा रहेको चल/अचल सम्पत्ति रोक्का राखेको दाबी गरे पनि मनाङेले राजमानलाई हिमालयन बैंकमा रहेको आफ्नै खाताको चेक दिएका थिए।
ब्युरोको अनुसन्धान प्रतिवेदनमा उनको सम्पत्तिमध्ये १० करोडको स्रोत नखुलेको उल्लेख थियो। मनाङेसँगै गणेश लामा, पर्शुराम बस्नेत, चक्रे मिलन लगायतकाले समेत आपराधिक गतिविधिबाट अकुत सम्पत्ति कमाएको ब्युरोको निष्कर्ष थियो। अनुसन्धान फाइल विभाग पुगेको दुई साता कटे पनि मुद्दा प्रक्रिया भने अगाडि बढ्न सकेको छैन।
सिंह र लामाविरुद्ध प्रहरीले जिल्ला अदालत काठमाडौं र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अनुसन्धानका लागि प्रहरीले म्याद लिइसकेको छ। मनाङेविरुद्ध कुनै अभियोग दर्ता गरिएको छैन। चेक बाउन्सका आधारमा ठगी अभियोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
मनाङेलाई बैंकिङ कसुर वा ठगी दुवै अभियोगमा कारबाही अगाडि बढाउन सकिने भए पनि उजुरीकर्ता वृद्ध भएकाले मिलापत्रको प्रयास सुरु भइसकेको स्रोतले बतायो।
कलंकी क्षेत्रमा सक्रिय विश्वक्रान्ति पनि ठगी अभियोगमा पक्राउ परेका हुन्। एक व्यक्तिको घर पास गरेर पनि रकम नदिएको अभियोगमा प्रहरीले उनलाई एक साताअगाडि पक्रेर हिरासतमा राखेको छ। बैंकको कर्जा तिरिदिन्छु भन्दै तीन करोडमा घर बेचेर पैसा नदिएको उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
मैतीदेवी क्षेत्रमा कहलिएका गुन्डा सञ्जिव स्याल भनिने सञ्जिव लामा सार्वजनिक अपराधको अभियोगमा चार दिनदेखि काठमाडौं परिसरकै हिरासतमा छन्। गौशालाको एक म्यानपावर कम्पनी तोडफोड गरेको अभियोगमा काठमाडौं परिसरको टोलीले उनलाई गत शनिबार न्युरोडगेटमा पक्राउ गरेको थियो। उनलाई सार्वजनिक अपराधको अभियोगमा हिरासतमा राखेको परिसरका एसपी उत्तम कार्कीले जानकारी दिए। स्रोतका अनुसार स्याललाई पक्राउलगत्तै छुटाउन गणेश लामाले प्रहरीलाई दबाब दिइरहेका छन्।
अभि भनिने अभिमानसिंह बस्नेत र स्यालबीच पटक-पटक ग्याङ वार हुँदै आएको थियो। रेस्टुरेन्टमा पार्टनर रहेका यिनीहरुबीच लगानीका विषयमा विवाद भएको थियो।
नाम परिर्वतन गरेर मैतीदेवीको हत्या घटनाबाट जोगिने प्रयास गरे पनि वास्तविकता खुलेपछि अभि पक्राउ परेर पुर्पक्षका लागि जेल पुगेका थिए। पछि उनी रिहा भए।