कांग्रेस महासमिति बैठक सकियो, ७० सालभित्रै निर्वाचन गर्ने प्रतिवद्धता
बालकृष्ण अधिकारी,त्रिवेणी, चैत २९ - चैत २६ बाट सुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकमा आज सकिएको छ । शीर्ष नेताहरुले बोलेसँगै बैठक समापन भएको छ । राजनीतिक प्रस्तावलाई थप परिमार्जन गर्ने निर्णय गर्ने गरी महासमिति बैठक सकिएको छ ।
समापनलाई सम्बोधन गर्दै शीर्ष नेताहरुले पार्टीलाई एक ढिक्का बनाउनु पर्नेमा जोड दिए ।
अब आउने निर्वाचनलाई लक्षित गर्दै शीर्ष नेताहरुले भने, 'यो चुनावमा कांग्रेसको जीवन मरणको सवाल छ । यदि यो चुनाव कांग्रेसले जिते मात्रै राष्ट्रियता र लोकतन्त्र मजबुत हुन्छ ।' कांग्रेस पार्टी एकतावद्ध भएर अघिबढे जुनुसकै शक्ति आएपनि हल्लाउन नसक्ने नेताहरुको दाबी थियो ।
नेताहरुले आगमी निर्वाचनलाई केन्द्रमा राखेर निर्वाचनमा जान महासमिति सदस्यलाई आग्रह गरे ।
यसैगरी उपसभापति रामचन्द्र पौडेलले ७ वा १३ प्रदेश सहितको संघीयताको मोडेल सहित समसामयिक राजनीतिक विषयवस्तुबारे राजनीतिक प्रस्ताव बैठकमा पेस गरेका थिए । बैठकमा महासमिति उनको प्रस्तावमा धेरै नै सुझाव दिएका छन् ।
बैठकले पौडेलले ल्याएको राजनीतिक प्रस्तावलाई थप परिमार्जन गर्ने निर्णय गरेको छ । महासमितिमा आएको सुझावलाई अध्ययन गरी परिमार्जन गर्न पौडेलकै संयोजकत्वमा ९ सदस्यीय समिति बनाइएको छ । अरु प्रस्तावलाई पारित गरेको छ ।
समितिले तयार गरेको परिमार्जन सहितको राजनीतिक प्रस्ताव केन्द्रीय समितिबाट अनुमोदन पछि मान्य हुने गरी महासमिति बैठकले पारित गरेको हो । ७ प्रदेशभन्दा बढी बनाउन नहुने पक्षमा बहुमत सदस्यहरुले सुझाव दिएका थिए ।