आँखाको ज्योति पाएपछि सय वर्षकी वृद्धाले भनिन, अव राजनीतिमा फर्कन्छु

१२ वैशाख, नेपालगञ्ज । उनले यो धर्तीमा पाइला टेकेको एक शतक पूरा भइसकेको छ । यो अवधिमा उनले अनेक आरोह–अवरोह पार गरेकी छन् । तर, १९ चैत २०६९ भने जीवनकै सबैभन्दा महत्वपूर्ण दिन बन्न पुग्यो ।

जाजरकोट मजकोट–७ की सय वर्षीया धनसरा बस्नेतलाई आठ वर्षअघि गुमेको आँखाको ज्योति पाउँदा सपनाजस्तै लागिरहेछ । सुरुमा त उनले आफ्नो ज्योति फर्केको विश्वास पनि गर्न सकिनन् । तर, छोरा कल्पे र छोरी सुनकलीलाई आफ्नै आँखाले देखेपछि भने विश्वास नगरेर धरै पाइनन्, धनसराले । ९२ वर्षको उमेरमा मोतियाबिन्दुका कारण आँखाको ज्योति गुमेपछि पुनः संसारलाई देख्ने कल्पना पनि नगरेकी यी वृद्धामा नेत्रज्योति फर्केपछि अचम्मको आत्मबल बढेको छ ।

‘मेरा बन्द आँखा खुले, अब फेरि राजनीतिमा फर्कन्छु,’ विगत सम्झँदै धनसराले भनिन् । नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार तथा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम नेपालगन्जद्वारा सञ्चालित निःशुल्क आँखा शिविरबाट उनले गुमेको आँखाको ज्योति पाएकी हुन् । आँखा बन्द भएर घरको आँगनमा समेत जान नसक्ने धनसरालाई छोरा कल्पेले सात घन्टाको बाटो पिठ्यूँमा बोकेर शिविरसम्म पु¥याएका थिए ।स्थानीय बासिन्दामाझ माझकोटकी सभापति उपनामले चर्चित बनेकी यी वृद्धा जाजरकोटको दसेरा, सुवानाउली, मझकोट, दह, कोर्ताङ, गर्खाकोट, पजारुलगायत क्षेत्रकी अगुवा मानिन्छिन् । २००७ सालदेखि प्रजातन्त्रको लडाइँ लड्दै आएकी यी वृद्धाले पञ्चायतदेखि प्रजातन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रामा पटक–पटक गाउँको नेतृत्व गरेकी छन् । उनी प्रधानपञ्च र गाविस अध्यक्षमा सात पटक निर्वाचित भइसकेकी अगुवा महिला हुन् ।

‘गाउँको भलो चाहने र सात पटक प्रमुख भइसकेकाले पनि आमामा राजनीतिप्रतिको लगाव नमेटिएको हो,’ धनसराको राजनीतिक लगावप्रति समर्थन गर्दै छोरा कल्पेले भने राजधानी दैनिकमा खबर छ। सात पटकसम्म गाउँको नेतृत्व गरिसकेकी बस्नेतले शिक्षाको नाममा भने ‘क’ अक्षरसम्म पनि पढेकी छैनन् । जीवनको २७ वशन्त पारे गरेपछि श्रीमान् गुमाएकी बस्नेत त्यसयता एकल महिलाको रूपमा जीवन ब्यतित गर्दै आएकी छन् । ‘जीवनमा कति दुःख र हन्डर खाएँ तर पनि कहिल्यै राजनीतिदेखि विचलित भइनँ, हुन पनि सक्दिन,’ आफ्नो अनुभव सुनाउँदै उनी भन्छिन् । जनताको सेवा गर्ने उनी माओवादीको निसानामा पटक–पटक परेकी थिइन् तर पनि हिम्मत हारिनन् ।

गाउँको भलो चाँहदा नै उनीमाथि आक्रमण भएको थियो । सशस्त्र द्वन्द्वमा उनको सबै सम्पत्ति माओवादीले लुटेका थिए । संयोग नै मान्नुपर्छ, माओवादीबाट सम्पत्ति लुटिनु र आँखा बन्द हुनु सँगसँगै जस्तो भएको थियो । ‘अहिले मेरा आँखा खुलेका छन्, अब म उनीहरूलाई राजनीति कस्तो हुन्छ र कसरी गर्नुपर्छ भनेर देखाउँछु,’ सम्पत्ति लुट्नेसँग कुनै पूर्वाग्रह नराखी उनी भन्छिन्, ‘राजनीति नबुझेर उनीहरूले अर्काको सम्पत्ति लुटे ।’ मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमप्रति उनलाई कत्ति पनि चित्त बुझेको छैन । तर, पनि निर्वाचन हुने कुराले उनमा खुसी थपिएको छ ।

आफ्ना आँखा अपरेसनबाट खुले र सबै देख्न सक्ने भएझै देशले पनि निर्वाचनबाट निकास पाउने उनको दृढ विश्वास छ ।