मन्त्रिपरिषद्का अध्यक्ष र चार दलका शीर्ष नेताबीच आजको वार्तामा के भयो?

काठमाडौँ, चैत २३ (नागरिक) - अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र चार दलका शीर्ष नेताहरुबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा निर्वाचनका बारेमा भएका पछिल्ला गतिविधि र असन्तुष्ट पक्षलाई सहमतिमा ल्याई निर्वाचन प्रक्रियामा बढीभन्दा बढी सहभागिता जुटाउन छलफल भएको छ।



'निर्वाचन आयोगले बुझाएका निर्वाचनका लागि आवश्यक कानुनका मस्यौदाबारे आएका सुझावलाई मध्यनजर गर्दै त्यसलाई आवश्यक परिमार्जन गर्दै निर्वाचनको उपयुक्त वातावरण बनाउने विषयमा छलफल भयो', अध्यक्षका प्रेस सल्लाहकार विमल गौतमले नागरिकन्युजलाई जानकारी दिए।



छलफलमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कङ्ग्रेसका तर्फबाट शेरबहादुर देउवा र रामचन्द्र पौडेल, एमालेका तर्फबाट अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाका तर्फबाट राजकिशोर यादव सहभागी थिए।



निर्वाचन आयोगद्वारा प्रस्तावित समानुपातिक निर्वाचनका लागि क प्रतिशतको सीमा र अन्य व्यवस्थाबारे विभिन्न राजनीतिक दलले ज्ञापन पत्रमा दिएको सुझाव र हिजो ३३ दलबीच भएको छलफलमा आएका सुझावलाई समेत ध्यान राखेर निर्वाचनको वातावरण तयार गर्ने सहमति छलफलमा भएको गौतमले जानकारी दिए।



भेटका क्रममा अध्यक्ष रेग्मीले निर्वाचनमा बढी भन्दा बढी सहभागिता जुटाउने कार्यलाई सरकारले गम्भीर प्राथमिकतामा राखेको र यसका लागि थप छलफलअघि बढाउने बताए।