जेनेरेटरको प्रयोगमा १२ अर्ब खर्चेर ६५० मेगावाट बिजुली, वर्षायाममा ४२ मेगावाट खेर जाने

५ वैशाख, काठमाण्डौं । उर्जा संकट गहिरिँदै गएपछि विगत पाँच वर्षभित्र व्यवसायीले जेनेरेटर खरिदमा मात्रै करिब १२ अर्ब रुपैयाँ खर्चिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अनुसार जेनेरेटर खरिदमा मात्रै १२ अर्ब रुपैयाँ खर्चिएका व्यवसायीले त्यसको मर्मतसम्भार र डिजेलका लागि दोब्बर रकम खर्चिने गरेका छन् ।



महासंघले गरेको अध्ययनअनुसार मुलुकभर रहेका क्याप्टिभ जेनेरेसन (तापिय उर्जा) को क्षमता करिब ६ सय ५० मेगावाट छ । ‘मोटामोटी अनुमान गर्दा त्यसका लागि व्यवसायीले क्याप्टिभ प्लान्टका लागि मात्रै अन्दाजी १२ अरब रुपैयाँ खर्च गरेका छन्,’ महासंघ अध्यक्ष सुरज बैद्य भन्छन्, ‘यति रकमबाट हामीले काठमाण्डौं- तराई दू्रतमार्गको निर्माणको आधा वित्तीय स्रोत जुटाउन सक्थ्यौं ।’

निजी क्षेत्रले उर्जा अभावकै कारण मुलुकका अधिकांश उद्योग व्यवसायहरु औसत ४० प्रतिशत मुलुकको व्यापार घाटासमेत बढाइरहेको कारोबार दैनिकमा खबर छ । महासंघका अनुसार तराईका औद्योगिक करिडोरमा समेत नियमति विद्युत आपूर्ति नहुँदै कतिपय उद्योगमा सबै सिफ्ट जेनेरेटर सञ्चालन गर्नुपर्ने बाध्यता छ । मुलुकका ठूला उद्योग मात्र नभई साना, घरेलु र मझौला उद्योगसमेत उर्जा संकटका कारण जेनेरेटरमा लगानी गर्न बाध्य भएको बैद्यले बताए ।

वर्षायाममा ४२ मेगावाट बिजुली खेर जाने

बर्दघाट हेटौंडा २२० केभी क्षमताको प्रसारण लाइन समयमा नबनेर पूर्वमा विद्युत आपूर्ति गर्न नसकिएपछि आउँदो वर्षात्को चार महिनामा ४२ मेगावाट बिजुली खेर जाने भएको छ । गत वर्ष नै सम्पन्न गर्ने लक्ष्य राखिएको यो प्रसारण लाइन नबनेपछि आउँदो असार, साउन, भदौ र असोजसम्म बिजुली खेर जाने अवस्था आएको हो ।

यो वर्ष पश्चिम क्षेत्रमा थप तीनवटा विद्युत आयोजना निर्माण भएर २३ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थप भएको छ । गत वर्ष पनि २५ मेगावाट विजुली खेर गएको थियो । नेपाल विद्युत प्राधिकरणले करोडौं रुपैयाँ आम्दानी गुमाउनेछ ।

भरतपुर हेटौंडा १३२ केभी प्रसारण लाइनबाट क्षमता कम भएकाले थप बिजुली पूर्वमा प्रवाह गर्न सकिँदैन । नेपाल विद्युत प्राधिकरणले पूर्वमा बिजुली आपूर्ति बढाउन विश्व बैंकको सहयोगमा यो लाइन निर्माण गर्न लागेको हो ।