शाहरुखविरुद्ध मनोज कुमारको मुद्दा

मुम्बई, चैत २३ (एजेन्सी)- भारतका पुराना अभिनेता मनोज कुमारले शाहरुख खान र फिल्म निर्देशक फरहा खानविरुद्ध मुम्बईको अदालतमा मंगलबार मुद्दा दायर गरेका छन्। सन् २००७ को फिल्म 'ओम शान्ति ओम'का केही दृश्यले आफ्नो छवि बिगारेको आरोप मनोज कुमारको हो। केही दिनअघि जापानमा रिलिज गर्दा पनि फिल्मबाट दृश्य नहटाइएकोले मनोज कुमार अदालत पुगेका हुन्।



'जापानमा ती दृश्य नकाटिकनै फिल्म रिलिज भएको छ, मैले उनीहरुलाई दुईपटक क्षमा दिइसकेँ तर यसपटक दिने छैन, उनीहरुले मलाई सम्मान गर्न जानेनन्, उनीहरुले अदालतको समेत अवहेलना गरेका छन् किनभने सन् २००८ मै अदालतले उनीहरुलाई सबै प्रिन्ट, प्रसारण हुने माध्यमबाट ती दृश्य हटाउन आदेश दिएको थियो,' मनोज कुमारले प्रेस ट्रस्ट अफ इन्डियासित भने। उनले फिल्म पक्षसँग क्षतिपूर्ति स्वरुप एक अर्ब भारु दावी गरेका छन्।

शाहरुख खानसँग आफ्नो कुनै तिक्तता नभएको ७५ वर्षीय मनोज कुमारले बताए। उनले भने, 'शाहरुखसँग मेरो कुनै टकराव छैन। उनी असल व्यक्ति हुन् तर मेरो आफ्नो आत्मसम्मानको कुरामा चाहिँ म संयमित हुन सक्तिनँ।'

'उपकार', 'पुरव और पश्चिम' जस्ता फिल्मका अभिनेता मनोज कुमारले सन् २००८ मा 'ओम शान्ति ओम'का निर्मातालाई अदालतसम्म डोर्याएका थिए। फिल्ममा शाहरुखसहित, दीपिका पादुकोण र अर्जुन रमपालको मुख्य भूमिका छ। फिल्मले बक्स अफिसमा तहल्का मच्चाएको थियो।