व्यापारी अपहरणमा प्रहरी संलग्नता : दुई सई थुनामा, असईलाई धरौटी

काठमाडौं, वैशाख ९ - दुई व्यापारीलाई अपहरण गरी रकम असुलेको अभियोग लागेका तीन प्रहरीमध्ये दुई जनालाई जिल्ला अदालतले पूर्पक्षका लागि कारागार पठाएको छ। अपहरणको योजनाकार र असुलेको रकमबाट भाग बुझेको भनी प्रहरी अनुसन्धानमा दाबी गरेका प्रहरी भने धरौटीमा छुटेका छन्।



मूर्तिको अवैध कारोबारमा संलग्न भन्दै व्यापारी कर्णध्वज लिम्बू र सूर्यमान तामाङलाई नियन्त्रणमा लिई बन्धक बनाएर अढाई लाख रकम असुल्नुका साथै मोबाइल र मोटरसाइकल कब्जामा लिएको अभियोगमा तीन प्रहरी चैत पाँच गते पक्राउ परेका थिए। पक्राउ परेका महानगरीय प्रहरी अपराध महाशाखाका सई रुद्र पौडेल, असई राजु भण्डारी र काठमाडौं परिसरका सई प्रकाश मल्लविरुद्ध गत साता मुद्दा दायर भएको थियो।



प्रहरीका अनुसार चैत ४ गते उनीहरूले लिम्बु र तामाङलाई कुमारीगालबाट कब्जामा लिएर प्रहरी कारबाहीबाट जोगाइदिने भन्दै १० लाख रकम मागेका थिए। चार लाखमा सहमति भएपनि उनीहरूले दुई लाख ६० हजार रुपैयाँ लिएर बाँकी रकम नदिएसम्मका लागि भन्दै मोबाइल र बा५२प ३९९५ नम्बरको मोटरसाइकल आफैंसँग राखेका थिए।



पैसा बुझाएर फर्केपछि व्यापारीले आफू अपहरणमा परेको भन्दै महानगरीय प्रहरी वृत्त बौद्धमा उजुरी दिएका थिए। त्यसपछि प्रहरीले अनुसन्धान गर्दै अपहरण र असुलीमा ती तीन प्रहरीको संलग्नता पुष्टि गरेको थियो। तीन प्रहरी र दुई सहयोगी गहनापोखरीनजिक जम्मा भएर असुलेको रकम बाँडफाँड गरी कब्जामा लिइएको मोटरसाइकल भन्डारीले लगेको प्रहरी दाबी छ। अपहरणमा संलग्न प्रहरीले व्यापारीको परिवारबाट रकम बुझेको 'सिसिटिभी फुटेज', व्यापारीको मोटरसाइकल र रकम बाँडफाँडको आधारमा घटनामा पाँच जना संलग्न रहेको पुष्टि भएको थियो पक्राउ परेका तीनै प्रहरी योजनामा संलग्न रहेको जिकिर गर्दै अपहरण तथा शरीर बन्धक अभियोगमा पूर्पक्षका लागि थुना मागदाबी गरिएको थियो।



अभियोग पत्रमा सईद्वय पौडेल र मल्ल योजना निर्माण, अपहरण, रकम असुली र बाँडफाँडमा संलग्न रहेको तथा भन्डारी योजना निर्माण र कब्जामा लिइएको मोटरसाइकल व्यवस्थापन र रकम बाँडफाँडमा संलग्न रहेको उल्लेख छ। असुली गरेको रकम, कब्जामा लिइएको मोटरसाइकल र असुलीको रकम साट्न गएको बैंकको सिसिटिभी फुटेज र अभियुक्तबीचको फोन सम्पर्क विवरण प्रमाणको रूपमा अदालतमा पेश गरिएको थियो।



अदालतमा पेश भएको एनआइवी बैंक कमलादीको सिसिटिभी फुटेजमा ५ वजेर १६ मिनेटमा बैंकमा गएर डेढ लाख रकम निकालेको देखिन्छ। रकम भुक्तानी लिन भन्डारी मल्ल र पौडेल आएको बैंकको कर्मचारीको बयानमा उल्लेख छ। अपहरणमा संलग्न नभएको दावी गर्दै भन्डारीले प्रमाणको रुपमा स्तुपा अस्पतालको कागज पेश गरेका थिए।



न्यायाधीश बालकृष्ण उप्रेतीको इजलासले आइतबार मल्ल र पौडेललाई थुनामा पठाउने आदेश दिएपछि उनीहरूलाई केन्द्रिय कारागार जगन्नाथ देवल पठाइएको छ। घटनाको योजनाकार दाबी गरिएका असई भण्डारीलाई भने 'प्रारम्भिक रूपमा संलग्न नदेखिएको' भन्दै अदालतले डेढ लाख धरौटीमा छाडेको छ।



बहस सकिएको पाँच घन्टापछि फैसला



तीनै प्रहरीविरुद्ध थुनछेकको बहस आइतबार १२ बजे नै सकिएको थियो। कार्यालय समय सकिएपछि मात्रै अदालतको आदेश सार्वजनिक भएको थियो। कार्यालय समय सकिएको १७ मिनेटपछि मात्र आदेश आएको थियो। अदालत स्रोतका अनुसार बहस सकिएको सवा पाँच घन्टासम्म आदेश रोक्नुपर्ने चाप अदालतमा थिएन।



थुनछेक बहस सकिएपछि आदेश आउन एक घन्टाभन्दा बढी समय लाग्दैन। जिल्ला अदालतमा यस्तो प्रकृतिको मुद्दामा बहस सकिएपछि आदेश नदिएसम्म न्यायाधीश इजलासबाट बाहिरिँदैनन्। थुनछेकको बहस सकिएको सवा पाँच घन्टापछि त्यो पनि कार्यालय कटेपछि मात्रै आदेश सुनाउन इजलास बसेको थियो।



(नागरिक)