‘तपाईंहरूकै सहयोगले मेरो छोराले पुनर्जन्म पायो, यसमा म निकै खुसी छु। :पूर्वराजा ज्ञानेन्द्र
काठमाडौं,फागुन २८ । हृदयाघात भएपछि अस्पताल भर्ना गरिएका छोरा पारसलाई उपचारपछि घर फर्काउने तयारी पूर्वराजपरिवारले गरेको छ । छोराको स्वास्थ्यमा चामत्कारिक सुधार आएपछि निकै हर्षित बन्नुभएका पूर्वराजा ज्ञानेन्द्र शाह पारसलाई घर ल्याउने वातावरण बनाउन सक्रियता देखाइरहनुभएको छ ।
गत फागुन ९ मा हृदयाघात भएपछि पारसलाई उपचारका लागि बैंककस्थित समितिवेज अस्पताल भर्ना गरिएको थियो । पछिल्लो समयमा उनको स्वास्थ्यमा सुधार आउँदै गएको छ । उनको हेरचाहका लागि पूर्वराजपरिवारका सबै सदस्य बैंककमै छन् । पारसको उपचारमा सुरुदेखि नै सहयोग गर्दै आएका गैरआवासीय नेपाल संघ थाइल्यान्डका महासचिव सुनील खड्काका अनुसार छोराको स्वास्थ्यस्थितिबारे पिता ज्ञानेन्द्र दुईपटक र पत्ती हिमानीले तीनरचारपटक दैनिक अस्पतालमै पुगेर जानकारी लिने गरेका छन् ।
छोराको उपचारमा पूर्वराजाले कुनै कसर बाँकी नराखेको उहाँले बताउनुभयो । पारसको उपचारमा संलग्न डाक्टरहरूसित नियमित सम्पर्क गरी पूर्वराजा ज्ञानेन्द्रले स्वास्थ्यमा देखिएको सुधार तथा खराब पक्षबारे जानकारी लिइरहनुभएको छ । पूर्वराजपरिवार बैंककको एक होटलमा बसिरहेको छ । पारस बिरामी भएको आठ दिनपछि पूर्वराजारानी ज्ञानेन्द्र र कोमल बैंकक पुगेका थिए । छोरा पारसको स्वास्थ्यस्थितिमा सुधार नआएपछि आफ्नो एकमहिने सिमरा भ्रमण छोट्याएर पूर्वराजदम्पती नातिनातिना हृदयेन्द्र, पूर्णिका र कृतिकासहित बैंकक गएका थिए । पारस अस्पताल भर्ना भएको दुई दिनपछि बहिनी–ज्वाइँलगायत आफन्त र ५ दिनपछि पत्नी हिमानी पनि बैंकक पुगेकी थिइन् । पतिको स्वास्थ्यलाभको कामना गर्दै हिमानीले बैंककस्थित एक मन्दिरमा धेरैपटक पूजापाठ पनि गरेकी छन् । मन्दिरमा गएर जप गर्नुका साथै उनले स्थानीय विधिअनुसार पूजापाठ गरेकी छन् । अस्पतालले उनलाई पारससितको भेटघाटमा रोक लगाएको छैन । उनी जुनसुकै बेला पनि बिरामी पतिलाई भेट्न जाने गर्छिन् । स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रले पनि छोराको स्वास्थ्यलाभको कामना गर्दै ब्राह्मणहरूलाई बोलाएर स्थानीय मन्दिरमा होम र जप गर्नुभएको छ । पारसलाई भेट्न बैंकक जानुअघि अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले भगवान्मा भरोसा गर्न आफ्ना शुभचिन्तकहरूलाई आग्रह गर्नुभएको थियो । सिमरामा हुँदा पनि स्थानीय मन्दिरमा पुगी उहाँले छोराको स्वास्थ्यलाभको कामना गर्दै पूजापाठ गर्नुभएको थियो ।
११ दिनसम्म अचेत अवस्थामा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको पारसको २० फागुनमा होस खुले पनि उनी अझै राम्रोसँग बोल्न सक्ने अवस्थामा भने छैनन् । मान्छे चिन्ने, अरूले बोलेको बुझ्ने तथा सुस्त रूपमा इसाराको सहायताले सामान्य गफ गर्नेभन्दा बढी सुधार आउन सकेको छैन । पारसको उपचारमा सुरुमा चार चिकित्सकको टोली खटिएको भए पनि पछिल्लो समयमा दुई जना डाक्टर मात्रै खटिएका छन् । अस्पतालले पिता ज्ञानेन्द्र, माता कोमल र पत्नी हिमानीबाहेक अरूलाई अहिलेसम्म पारसलाई प्रत्यक्ष भेट गर्न दिएको छैन । बैंककमै रहेका अन्य आफन्त र शुभचिन्तकहरूले आइसियुकक्षको बाहिरी सिसाबाट मात्रै उनलाई हेर्न पाएका छन् । पिता ज्ञानेन्द्र र पत्नी हिमानीले दैनिक पटक–पटक अस्पतालमै पुगेर पारसको स्वास्थ्य अवस्थाबारे जानकारी लिए पनि आमा कोमलले प्रायस् होटलबाटै छोराको स्वास्थ्यबारे जानकारी लिने गरेकी छन् । पूर्वराजा ज्ञानेन्द्रले छोराको उपचारका लागि कुनै कमी हुन दिनुभएको छैन । नेपालका चर्चित डाक्टरहरू उपेन्द्र देवकोटा, भगवान् कोइरालालगायतलाई पनि उहाँले बैंकक झिकाउनुभएको थियो । उहाँले पारसको उपचारमा आर्थिक सहयोग गर्ने व्यक्तिहरूको रकम पनि फिर्ता गरिसकेको स्रोतले जनाएको छ । पारसको उपचारमा मात्रै अहिलेसम्म करोडभन्दा बढी खर्च भइसकेको छ । पारसको स्वास्थ्यमा सुधार आउन थालेपछि उपचार सफल हुँदै गएको भन्दै पूर्वराजा ज्ञानेन्द्रले उपचारमा सुरुदेखि नै सहयोग गर्नेहरूको स्वागतमा भोज आयोजना गर्नुभएको थियो ।
त्यस्तै, बैंककमा रहेका अन्य नेपाली शुभचिन्तकहरूसँग पनि उहाँ खुसी साटिरहनुभएको छ । पारसको उपचारमा सघाउनेहरूलाई उहाँले निकै भावुकतासाथ धन्यवाद दिने गर्नुभएको छ । ‘तपाईंहरूकै सहयोगले मेरो छोराले पुनर्जन्म पायो, यसमा म निकै खुसी छु । तपार्इंहरूको यो गुन म कहिल्यै भुल्न सक्दिनँ,’ पूर्वराजा ज्ञानेन्द्रको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।