बेहुला बेहुलीलाई नै थाहा नदिई बिहे !

१४ फागुन, रोल्पा । तपाई अनुमान गर्नुहोस् त बेहुलाबेहुलीलाई थाहै नदिई बिहे हुन सक्छ कि सक्दैन होला ? जिज्ञासा मेटाउन सोचिरहनु पर्दैन पटक्कै हुँदैन् । तर रोल्पाको हृवामा गाविस ८ का ४९ बर्षका आसीपुर पुन र २० बर्षकी मुन्नी बुढाले थाहा नपाई झन्डै बिहे भयो ।



घर बनाउने काम गर्दै आएका आसीपुर सँधैझै शनिबार बिहान घरबाट तीन घण्टा टाढा काममा निस्किएका थिए । छिमेकीले उनलाई फोन गरी तत्काल घर आउन भने । तर, किन घर फर्काइएको हो भन्ने उनलाई पत्तो भएन् । मुन्नी पनि आफ्नै पाराले घरमा तानेतुने गर्दै थिइन् । एक्कासी आँगनमा पञ्चेबाजा बज्न थाल्यो । अनि पो झसंग भइन् , आफ्नै बिहे हुन लागेको थाहा पाएर, त्यो पनि बाबुका उमेरको छिमेकीसँग ।

ऋासीपुर र मुन्नीको घर आमनेसामने छ । दुबैलाई थाहासमेत नदिइकन आफन्तले उनीहरुको बिहे गरिदिन चाँजोपाँजो मिलाई दिएको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । जर्बजस्ती आफ्नो बिहे गर्न लागेको थाहा पाएपछि भागेकी मुन्नीले प्रहरीमा दिएको उजुरीका आधारमा बेहुला बनाईएका आसीपुर, उनकी बहिनी भूमिका, गाउँकै दुई युवा बालाराम पुन र दुर्गा पुनलाई प्रहरीले पक्राउ गरेपछि बिहे रोकिएको हो ।