सशस्त्र प्रहरी भर्नामा राउटे युवकको दरखास्त

२२ पुस, कञ्चनपुर । जङ्गलका राजा भनेर चिनिने राउटे समुदायका एक युवकले सशस्त्र प्रहरीमा भर्ना भएर देश सेवा गर्न चाहेका छन् । सशस्त्र प्रहरी बलले खोलेको प्रहरी भर्नामा कञ्चनपुरका राउटे युवकले आवेदन दिएका हुन् । सशस्त्र प्रहरी बल वैद्यनाथ बाहनी अत्तरियाका प्रमुख तथा सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले कञ्चनपुरको भीमदत्तनगरपालिका-९ खल्लामछेट्टीका १९ वर्षीय अमर राउतले जवान पदका लागि दरखास्त हालेको जानकारी दिनुभयो । थापाका अनुसार अमरले खुल्ला जनजातितर्फबाट फाराम भरेका र उनको दरखास्त नम्बर ३६५६ रहेको छ । सरकारले अन्य जातिका लागि कोटा निर्धारण गरे पनि राउटे जातिका लागि भने कुनै कोटा निर्धारण नगरेको सशस्त्र प्रहरी उपरीक्षक थापाले बताउनुभयो । उपरीक्षक थापाका अनुसार सशस्त्र प्रहरी सेवा आयोगद्वारा निर्धारण गरेका मापदण्डहरु पूरा गरे उनी सशस्त्र प्रहरीमा भर्ना हुन सक्ने छन् । अमरले आफूलाई पनि देश र जनताको सेवा गर्ने इच्छा भएका कारण दरखास्त दिएको प्रतिक्रिया दिनु भएको छ । उहाँले भन्नुभयो-”मलाई पहिलेदेखि डडेल्धुराका जितबहादुर बमले चिन्थे र साथैदेखि उनले सहयोग गरेका थिए, बमले नै भनेर थाहा पाएको हुँ ।” आफूलाई विद्यालय पढ्नु पर्छ भनेर पनि बमले नै प्रेरणा दिएको अमरले बताए । बमको प्रेरणाबाट आफूले भीमदत्त प्राविमा कक्षा-५ सम्म अध्ययन गरेको समेत उनले बताए । कक्षा ५ उत्तीर्ण भए पनि आर्थिक स्थिति कमजोर भएका कारण पढाइलाई निरन्तरता दिन नसकेको अमरले गुनासो गरे । अमरका दुई दाजुभाइ अझै पनि जङ्गलमै बस्ने गरेका छन् । अमरलाई पहिलेदेखि नै सहयोग गर्ने डडेल्धुराका स्थानीय अगुवा जितबहादुर बमले लोपोन्मख जातिलाई राज्यले हेपेको र उनीहरुको वृत्ति विकासमा कुनै ध्यान नदिएको अवस्थामा आफूले केही सानो भए पनि सहयोग गर्ने उद्देश्यले पहिलेदेखि नै सहयोग गर्दै आएको बताए ।