उच्चमाध्यमिक शिक्षा परिषद्को प्रमाणपत्र शिक्षक सेवा आयोगलाई अमान्य

२२ पुस, काठमाण्डौं । प्राथमिक तहमा कार्यरत शिक्षकहरुले उच्च माध्यमिक शिक्षा परिषद्बाट पाएको कक्षा १२ उर्त्तीणको प्रमाणपत्रलाई शिक्षक सेवा आयोगले अस्वीकार गरेपछि स्थायी पदपूर्तिका लागि खुला गरिको प्रतिष्पर्धामा आवेदन दिन नपाउने भएका छन् । राज्यकै एउटा निकायले दिएको प्रमाणपत्रलाई अर्को निकायले अस्वीकार गर्दा यस्तो प्रमाणपत्र भएका कार्यरत हजारौ शिक्षक प्रतिस्पर्धा गर्नबाट बञ्चित भएको गोरखापत्र दैनिकमा खबर छ । एसएलसी परीक्षा उर्त्तीण गरी १० महिने सेवाकालीन वा पूर्वसेवाकालीन तालिम लिएका सामुदायिक तथा निजी विद्यालयका शिक्षकहरुलाई कक्षा ११ नपढी सिधै कक्षा १२ को बाषिर्क परीक्षामा सहभागी गराउने व्यवस्था तीन बर्षअघि सुरु गरिएको थियो । त्यसअन्तर्गत परीक्षामा सम्मिलित १४ हजारमध्ये हालसम्म पाँच हजारभन्दा बढी शिक्षकले परीक्षा उर्त्तीण गरिसकेका छन् । हाल प्राथमिक तहमा अध्यापनरत ती शिक्षक अधिकांशले स्थायी अध्यापन अनुमतिपत्र लिइसकेका छन् । आयोगले शुक्रबार खुला गरेको प्रतियोगितामा उनीहरुले निम्न माध्यमिक तहमा परीक्षा दिन भने नपाउने भएका छन् । आयोगका सहसचिव खगेन्द्रप्रसाद नेपालले परिषद्ले दिएको प्रमाणपत्रमा श्रेणी र उर्त्तीण किटान नगरिएकाले त्यसलाई आफूहरुले मान्यता दिन नसक्ने स्पष्ट पार्दै भन्नुभयो, ‘ट्रान्सक्रिप्टबेगर आवेदन स्वीकार्न सकिँदैन । त्यो प्रमाणपत्रमा उच्च माध्यमिक तह उर्त्तीणको मान्यता नै छैन् ।’